AArya
RUMPUM
animated ellipse animated ellipse

मातृभाषाको संरक्षण परिवारबाटै गर्नुपर्नेमा विज्ञहरूको जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०७५, आईतवार २०:५४
3
Shares
विराटनगर/अंग्रेजी भाषाको मोह र सामाजिक संजाल तथा संचारमाध्यामको प्रभावले नेपालका मातृभाषा लोपउन्मुख रहेको भन्दै भाषा विद्ले चिन्ता व्यक्त गरेका छन् ।

नेपाली भाषा वा मातृभाषाको संरक्षण गर्नुको साटो अंग्रेजी माध्यमको नाममा पढाइने अंग्रेजी भाषाले नेपालका मातृभाषा तथा पूर्वीय दर्शनको क्षयीकरण भइरहेको उनीहरुको दावी छ ।
भाषा आयोगको आयोजना तथा सामाजिक विकासमन्त्रालयको सहयोगमा विराटनगरमा आयोजित एक कार्यक्रममा भाषाका विज्ञले नेपालका मातृभाषाहरु लोपहुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

नेपालमा बोलिने १ सय २३ वटा भाषाको अस्तित्व अत्याधिक अंग्रेजी मोह र मातृभाषाप्रतिको हेलाका कारण संकटमा पर्दै गएको उनीहरुको दावी छ ।

भाषा आयोगका अध्यक्ष डाक्टर लवदेव अवस्थीले अंग्रेजीको मोह राख्ने र भाषा संरक्षणमा चासो नदिने हो भने नेपाल नाम मात्रै रहने तर पहिचान मेटिने दावी गरे । उनले विश्वकै उत्कृष्ट मानिएको पूर्वीय दर्शन र सभ्यता पनि भाषा संकटसँगसँगै हराउने भन्दै स्थानीय तहका प्रमुख तथा सरोकारवालालाई जिम्मेवार हुन आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले मातृ भाषाको संरक्षणका लागि घर–घरबाटै भाषा प्रशिक्षण सुरु गर्नु पर्ने बताए । उनले अन्तरजातीय विवाह हुनु, संचारमाध्याम र प्रविधिका कारण पनि मातृभाषा संकटमा पर्दै गएको भन्दै ठोस कार्यायोजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रममा सहभागी १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भाषा–भाषा विचको विभेद अन्त्य गर्दै सहअस्तित्वको आधारमा राज्यले संरक्षण गर्नु पर्ने बताए । घिमिरेले भाषा धेरै बोल्ने र थोरैले बोल्ने आधारमा तलमाथि नहुने र सबैको अस्तित्व बराबर हुनुपर्ने पनि बताए ।

१ नम्बर प्रदेशमा १ सय ६ वटा भाषा रहेका छन् । जसमध्ये १ लाख भन्दा बढी जनसंख्या भएका भाषा १० वटा, १० हजार माथि १ लाखसम्म जनसंख्या भएका भाषा २४ वटा र १० हजार भन्दा कम जनसंख्या भएका भाषा ७२ वटा रहेको भाषा आयोगको तथ्यांकमा उल्लेख छ ।

नेपालमा भने १ लाख भन्दा बढी जनसंख्या भएको भाषा १९ वटा रहेका छन् । प्रदेश १ मा सबैभन्दा कम जनसंख्या भएको भाषा अरवी, खाम्ची, काइके, दुरा हो भने सबैभन्दा बढी भाषा बोल्ने जनसंख्या नेपाली, मैथीलि र लिम्बू हो ।

पाठ्यक्रम र कामकाजी भाषाको विषयमा छलफल
भाषा आयोगले १ नम्बर प्रदेशका स्थानीय तहका प्रमुखसँग भाषा संरक्षण र कामकाजी भाषा कस्तो बनाउने भन्ने विषयमा छलफल गरेको छ ।

विराटनगरमा आज आयोजित कार्यक्रममा प्रदेश अन्तर्गत झापा, मोरङ र सुनसरीका स्थानीय तहका प्रतिनिधि तथा भाषा विज्ञ सहभागी छन् । कार्यक्रममा भाषा आयोगको कार्यक्षेत्रको बारेमा जनप्रतिनिधिलाई जानकारी दिइने र जनप्रतिनिधिबाट आयोगको कार्यक्षेत्र सम्बन्धी सुझाव संकलन गरिनेछ ।

एक दिने कार्यक्रमबाट प्राप्त सुझावका आधारमा भाषा नीति निर्माणमा सहजता आउने अपेक्षा गरिएको छ । प्रत्येक मातृभाषाको संरक्षण गर्ने दायित्व स्थानीय, प्रदेश र संघीय सरकारको रहने संविधानमा उल्लेख छ ।

यस्तै कामकाजको भाषा र मातृभाषामा पठन–पाठन गराउने विषय स्थानीय तहले भाषा अयोागको सहयोगमा निर्धारण गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । कार्यक्रमको उद्घाटन १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले गरेका थिए ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डाक्टर लवदेव अवस्थी, १ नम्बर प्रदेशका मुख्य सचिव सुरेश प्रधान, भाषा आयोगका सहसचिव रामशरण सापकोटालगायतले भाषा संरक्षणमा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर