पूर्वाञ्चल खबर
काँग्रेसका अमृत अर्याल, वाम गठबन्धनका शिवकुमार मण्डल र संघीय समाजवादी फोरमका राजकुमार यादव प्रतिनिधिसभातर्फको चुनावी मैदानको प्रतिस्प्रर्धा उत्रिएका छन् । तीन उमेदवारमध्ये मण्डल वहालबाला बिनाबिभागिय मन्त्री समेत हुन् ।
यसैगरी प्रदेशसभा (१) अन्तर्गत काँग्रेसका शुकदेव मण्डल, वाम गठबन्धनका ज्ञानेश्वर राजबंशी र संघीय समाजवादी फोरम बिजयसिंह गनगाई प्रतिस्प्रर्धामा छन् । प्रदेशसभा(२) मा नेपाली काँग्रेसका राजेश गुप्ता, वाम गठबन्धनका शुभान मियाँ र संघीय समाजवादी फोरमका जयराम यादव प्रतिस्पर्धामा छन् ।
प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उमेदवार मण्डल माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा वहालवाला विनाविभागिय मन्त्री हुन् । काँग्रेसका अर्याल केन्द्रीय सदस्य हुन । अर्याल र मण्डल चुनावी मैदान बाहिर हुँदा रहेको आत्मियतालाई जोगाउँदै मतदाता फकाउन व्यस्त छन् ।
मधेशी मतदाताको आधार मानिएको क्षेत्रमा संघीय समाजवादी फोरमका नेता राजकुमार यादवको चर्चा पनि कम छैन । स्थानीय तह निर्वाचनमा २४ मध्ये १४ वडामा संघीय समाजवादी फोरमले विजयी हाँसिल गरेकोले यादवले आफ्नो जीतको आधार मान्दै आएका छन् ।
काँग्रेसका अर्यालले आफ्नो र संघीय समाजवादी फोरमबीच प्रतिस्प्रर्धा हुने बताएका छन् भने वाम गठबन्धनका उमेदवार मण्डलले पहिलो हुनेमा कोही प्रतिस्प्रर्धी नभएको दावी गर्दै आएका छन् ।
दोस्रो संविधानसभा निर्वाचनमा अर्याल अहिलेकै क्षेत्रसँग जोडिएको ५ र मण्डल ४ नम्बर क्षेत्रबाट निर्वाचित उमेदवार हुन् । दुवै क्षेत्रमा दोस्रो संविधानसभा निर्वाचनमा मण्डलसँग काँग्रेस र अर्यालसँग मधेशी जनअधिकार फोरम प्रतिस्प्रर्धी थियो ।
यसैगरी प्रदेशसभातर्फ समेत त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रदेशसभा(१) मा काँग्रेसका शुकदेव मण्डल, वाम गठबन्धनका ज्ञानेश्वर राजबंशी र संघीय समाजवादीका विजयसिंह गनगाँईबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
वाम गठबन्धनका उमेदवार राजबंशी दोस्रो संविधानसभा निर्वाचनमा समेत ४ नम्बर निर्वाचन क्षेत्रको चुनावी मैदानमा थिए । अहिले प्रदेशसभा उमेदवार बनेपछि आफूलाई जनमत रहेको उनको दावी छ । काँग्रेसका मण्डल र संघीयका गनगाई चुनावी अनुभवमा पहिलो हुन् ।
प्रदेशसभा (२) मा फोरमका जयराम यादवसँग काँग्रेसका गुप्ता र वाम गठबन्धनका मियाँले प्रतिस्पर्धामा छन । यादव पहिलो संविधानसभा निर्वाचन २०६४ को उप–निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित सभासद् हुन् । यादव मधेशी दलका उमेदवार भएपनि सबैसँगको सामिप्यता र सुमधुर सम्बन्धका लागि कहलिएका नेता हुन् ।
गुप्ता काँग्रेसका जिल्ला सदस्य र मियाँ माओवादीका समर्थककै हैसियतमा टिकट पाएर चुनावी मैदानमा छन् ।