विराटनगर / प्रदेशमा मैथली र लिम्वु भाषालाई कार्यान्वयन गर्न सरकार गम्भिर रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
सार्वजनिक सेवा प्रशारण सेवा नेपाल, रेडियो नेपालद्वारा आज विराटनगरमा आयोजित नेपालको समावेशी आवाज रेडियो नेपाल, राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रशारण सवाल र भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले ती भाषाको प्रदेशमा प्रयोगका सम्बन्धमा आवश्यक छलफल, कानुन निर्माण,लिपी खोजविन,विकास र प्रवद्र्धनतर्फ सरकार प्रतिवद्ध रहेको बताए ।
मुख्यमन्त्री कार्कीले सबै जातजातिका धर्म,संस्कृति भाषा हाम्रो संस्कृति, र सम्पदा र पहिचान भएकोले तिनीहरुको संरक्षण गरि राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए । उनले ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई समाजमा नैतिक शिक्षा , अनुसशासन कायम गर्न र दुव्र्यशन न्यूनिकरणका लागि रेडियोमा जोड्नु पर्ने बताए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवणीरमण भण्डारीले विपदको समयमा सरकारी सञ्चार माध्यमले समाजलाई सुसुचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
सार्वजनिक सेवा प्रशारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा छरिएर रहेका विभिन्न जातजातिले बोल्ने भाषाको संरक्षणमा रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी दिए ।
कार्यक्रम संयोजक ताराप्रसाद वस्ती, तारणप्रिसाद कोइराला स्मृति सञ्चारगृह विराटनगरका निर्देशक पुष्करराज गौतमले सञ्चार गृहले गरेका कार्यका सम्बन्धमा जानकारी गराए ।