पूर्वाञ्चल खबर
वाणिज्य बैंकमार्फत वितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता विराटनगर महानगरपालिकाले वडा कार्यालय मार्फत वितरण गर्न सुरु गरेको हो ।
त्यसमा पनि ९० वर्ष माथिका र भत्ता लिदै आएका असक्तहरुलाइ जनप्रतिनिधि मार्फत घर घर मै पु¥याउने व्यवस्था गरिएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दीरा कार्कीले आज नगरका ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाइ घर मै गएर भत्ता प्रदान गरेका छन् ।
घर मै सामाजिक सुरक्षा भत्ता पाएपछि जेष्ठ नागरिकहरु दंग परेका छन् । बैंकमा लाइनमा बस्नु पर्ने लगायतका विभिन्न झन्जटका कारण सास्ती व्यहोरीरहेका जेष्ठ नागरिकहरु घर मै भत्ता पाएपछि दंग परेका हुन् ।
बैंकले दशै अगाडी सामाजिक सुरक्षा भत्ता बाढ्न नसक्ने बताएको भएपनि आफुले पहल गरेर भत्ता वितरण सुरु गरेको महानगरपालिकाका प्रमुख पराजुलीले बताए ।
महानगरपालिकाले ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाइ राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तामा थप एक हजार रुपैयाँ प्रदान गरेको छ । महानगरपालिकामा ९० वर्ष भन्दा माथिका ३ जना जेष्ठ नागरिकहरुले थप मासिक एक हजार भत्ता पाएका छन् । विराटनगर महानगरपालिकाले चार सय ८२ जना ६० वर्ष माथिका दलित जेष्ठ नागरिक, ७० वर्ष भन्दा माथिका ५ हजार एक सय ६९ जना, एकल महिला एक सय २ जना र विद्युवा २ हजार ७ सय ५१ जनालाइ सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । त्यस्तै तिन सय ५७ जना अपांगता भएका र पाँच वर्ष मुनिका पाँच सय १६ जना दलित बालबालिकाहरु समेत गरी महानगरपालिकाले जम्मा १० हजार तिन सय ३ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।