पूर्वाञ्चल खबर
ठगी गिरोहकै फन्दामा परेका तीन युवाको सुझबुझ र सहयोगमा प्रहरीले दुई भारतीय र दुई नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा विराटनगर–९ का २३ वर्षीय फैयाज खान, विराटनगर–१७ का ३१ वर्षीय जफर आलम तथा भारतको बिहारस्थित बेतिया जिल्लाका २६ वर्षीय ताहिर हुसेन र कटिहार जिल्लाका ३६ वर्षीय ‘गुड्डु’ भनिने मोहम्मद सावुदिन छन् । भारतीय नागरिकद्वय हुसेन र सावुदिन विराटनगर महानगरपालिका–४, एयरपोर्ट मोडमा डेरा गरी बस्दै आएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकामध्ये ताहिर हुसेनले पाकिस्तानी नागरिकसँगको सम्पर्क र निर्देशनमा ठगीको रकम भारतका विभिन्न बैंक खातामा जम्मा गर्ने गरेको तथ्य खुलेको छ ।
कसरी खुल्यो गिरोहको पोल ?
मधेस प्रदेश घर भई विराटनगरमा इन्जिनियरिङ अध्ययन गरिरहेका २६ वर्षीय श्याम महरा (परिवर्तित नाम) बाट यो सञ्जालको पर्दाफास भएको हो । पकेट खर्च जुटाउने क्रममा फैयाज खानको सम्पर्कमा आएका महरालाई खानले खातामा आएको रकम झिकेर दिएबापत २ प्रतिशत कमिसन दिने आश्वासन दिएका थिए ।
चिनजानकै व्यक्ति भएकाले विश्वासमा परेका महराको खातामा पटक–पटक गरी अपरिचित स्रोतबाट ७ लाख १५ हजार रुपैयाँ आयो । उक्त रकम झिकेर फैयाजलाई बुझाएबापत महराले १५ देखि २० हजार रुपैयाँसम्म कमिसन पाएका थिए । तर, केही समयपछि जिल्ला प्रहरी कार्यालय काठमाडौँ परिसरबाट महराको नाममा बैंकिङ ठगीको उजुरी परेको भन्दै फोन आएपछि उनी आफू फसेको निष्कर्षमा पुगे । त्यसपछि उनले सप्तरी घर भई विराटनगरमा सँगै अध्ययन गरिरहेका साथीहरू रोशनी साह र जनक यादव (परिवर्तित नाम) लाई घटनाबारे जानकारी गराए । तीनै जना साथीले मिलेर गिरोहलाई नै प्रहरीको जिम्मा लगाउने योजना बनाए ।
योजनाअनुसार फैयाजले रोशनी र जनकलाई पनि खातामा रकम आए कमिसन दिने प्रस्ताव राखे । त्यसलगत्तै रोशनीको नबिल बैंकको खातामा २ लाख ११ हजार र श्यामको खातामा ८० हजार गरी २ लाख ९१ हजार रुपैयाँ जम्मा भयो । तर, उनीहरूले उक्त रकम नझिकी सोझै जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर मुद्दा फाँटका प्रहरी निरीक्षक र प्रहरी प्रमुख एसपी कवित कटुवाललाई सम्पूर्ण विवरण सुनाए ।
त्यसपछि प्रहरीले तीनै युवाको सहयोगमा ‘स्टिङ अप्रेसन’ थाल्यो । रकम बुझ्न फैयाजको समूहलाई विराटनगर–१, भट्टा चोकस्थित ‘चिया सङ्गीत’ क्याफेमा बोलाइयो । ३ कात्तिक साँझ ६ बजे पैसा लिन क्याफेभित्र पसेकै बेला सादा पोसाकमा खटिएको प्रहरी टोलीले फैयाज र उनीसँगै आएका जफर आलमलाई रङ्गेहात पक्राउ ग¥यो। उनीहरूकै बयानका आधारमा प्रहरीले थप दुई भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।
कमिसनको तहगत जालो र ४० बैंक खाता प्रयोग
प्रहरीका अनुसार गिरोहले नेपाली नागरिकलाई साथी बनाएर खाता र डिजिटल वालेट खोल्न लगाउने र ठगीको रकम जम्मा गर्ने गरेको पाइएको छ। खातावालालाई नगद झिकेबापत २ प्रतिशत कमिसन दिएपछि फैयाजले संकलित रकमको १० प्रतिशत आफूले राखेर बाँकी सावुदिन र जफरलाई बुझाउँथे । सावुदिन र जफरले पनि १० प्रतिशत कमिसन राखेर बाँकी रकम ताहिरलाई दिने र ताहिरले पाकिस्तानी नागरिकको निर्देशनमा भारतीय बैंकमा पठाउने गरेको खुलेको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गिरोहले हालसम्म विभिन्न ८ बैंकका ४० वटा खाता र ई–सेवाका १७ वटा खाता रकम ओसारपसारमा प्रयोग गरेको पाइएको छ । नबिल, एनआईसी एसिया, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, ज्योति विकास, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंकका खाता दुरुपयोग भएको प्रहरीले जनाएको छ ।
हालसम्म प्राप्त जाहेरीका आधारमा १५ लाख रुपैयाँभन्दा बढी ठगी भएको देखिए पनि वास्तविक रकम अझै बढी हुन सक्ने डीएसपी मिश्रले बताए। पीडितहरू जाहेरी दिन आउने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले गिरोहका मुख्य योजनाकार विदेशमा रहेकाले पक्राउ गर्न चुनौती रहे पनि अनुसन्धान गहन ढङ्गले अघि बढाइएको बताए। ‘पक्राउ परेकाविरुद्ध अनलाइन ठगीसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ, संलग्न अन्यको खोजी जारी छ,’ एसपी कटुवालले भने, ‘अहिले अनलाइन बैंकिङ ठगी बढेकाले कसैलाई ओटीपी नदिन र कमिसनको लोभमा आफ्नो खाता अरूलाई प्रयोग गर्न नदिन सबैमा आग्रह गर्दछु ।’
प्रहरीले उक्त गिरोहबाट ठगीमा परेका अन्य व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गरी जाहेरी दिनसमेत आग्रह गरेको छ ।