RUMPUM
animated ellipse animated ellipse

अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व धुमधामको साथ मनाईयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०८३, आईतवार १६:३०
36
Shares
विराटनगर / छठ पर्वको तेस्रो दिन सूर्यदेवको आरधना, उपासना र पूजा गरी उल्लास पूर्वक आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व धुमधामको साथ मनाएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि शुरु भएको हो । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिएको हो । भोली उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

छठ पर्वका लागि विराटनगरको सिंघीया खोला, केसेलिया र नहरहरु बेहुलीझै सिंगारिएको छ ।

महान पर्व छठको पुजाका लागि गहुँ र चामलको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । अन्नबाहेक फलफूल, ठकुवा, भुसुवा, खजुरिया, पुरुकिया, पानी अंगुर तथा मुला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, ढाकी, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम लोकगीत गाउँदै निर्धरित जलासयसम्म पुगेका थिए ।

सोहीअनुसार परिकारहरू जलाशयका किनारमा राख्नुअघि त्यसठाउँ र पूजा सामग्रीलाई व्रतालुले पाँचपटक साष्टाङ्क दण्डवत गरेका थिए । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै ‘अरिपन’ चित्र कोरेका हुन्छन् ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुस्ख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाएक छन् ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।

मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ । छठ पर्वका लागि विराटनगरको सिघींया, केसलीया तथा सुनसरी सिचाइ आयोगको नहरलगायत पोखरी किनारमा सजावट गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर