पूर्वाञ्चल खबर
सडकलाई नै घरबास बनाएको भुस्याहा कुकुरको कारण २४ सैं घण्टा त्रास छ । विराटनगरमा अनुमानित ७० हजारको संख्यामा रहेका भुस्याहा कुकुरले कतिबेला कुन सर्वसाधारणलाई वित्यास पार्ने हो सो भन्न कठिन छ । भुस्याहा कुकुरका कारण बालबालिकादेखि वृद्धवृद्धासम्मलाई सडकमा आउजाउ गर्न दुश्कर बन्दै गएको छ ।
भुस्याहा कुकुरले उपद्रो मच्चाउँदा आवर विराटनगरका सञ्चारकर्मी प्रेम देवान बिहीबार स्कुटी दुर्घटनामा परे । सञ्चारको काम सकेर स्कुटीमा भाइलाई राखेर घर फर्कने क्रममा कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवास अगाडि चौबाटोमा कुकुरहरु भुक्दै टोक्न आएपछि स्कुटी ढलेको थियो । स्कुटी ढल्दा देवानसहित उनका भाइ बुद्वकुमार थुलुङ घाईते भए । थुलुङको अनुहार, हातखुट्टा र चिउँडोमा चोट लागेको थियो भने देवानको हातमा बढी चोट लागेको थियो । दुवैको न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।
यस्तै भुस्याहा कुकुरबाट मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ पीडित छन् । उनी दैनिक मर्निङ वाकमा निस्कने गर्छन् । तर उनलाई वाकभन्दापनि कुकुरले लखेट्ने वा टोक्ने हो कीभन्ने बढी चिन्ताले सताउने गरेको छ । बीएफम पछाडि शान्ति चोकमा घर भएका श्रेष्ठले कुकुरको आतंकका कारण वाक गर्ने रूट नै परिवर्तन गरेका छन् ।
न्यू सृष्टि दैनिकसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले आफू भुस्याहा कुकुरको आतंकबाट अत्यन्तै पीडित बन्दै गएको बताए । उनले वाकमा निस्कँदा कुकुरले चारैतिरबाट घेर्ने र आफूले बोकेको ब्यागसमेत लुछ्ने गरेको गुनासो गरे । उनले सरोकारवाला निकायले जसरी भएपनि भुस्याहा कुकुरलाई नियन्त्रण गर्नै पर्ने बताए ।
पशुअधिकारकर्मीले पशु अधिकारको संरक्षण गरिनु पर्नेभन्दै आवाज उठाएपछि महानगरले कुकुरलाई मार्न छाडेको छ । विकल्पमा कुकुरको बन्ध्याकरण गर्ने गरिएको छ तर प्रभाव कम छ । महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले विराटनगरमा काञ्जीहाउसको निर्माण गरिने र आवारा भुस्याहा कुकुर लगायत छाडा चौपायालाई नियन्त्रण गरिने घोषणा गर्दा खुबै वाहवाही पाएका थिए । तर उनको घोषणा कागजमा मात्रै सिमित रह्यो । काञ्जीहाउसका लागि निकासा गरिएको रकम कता भ्mवाम्म भयो त्यो ठेगान नै छैन ।
महानगरका कृषि विकास तथा पशुपन्छी शाखाका प्रमुख हिरालाल यादवले नियन्त्रणका लागि पहिले कुकुर मारिने गरिएको थियो तर पशुअधिकारकर्मीको विरोधका कारण सामुदायिक कुकुरलाई मार्न छाडिएको बताए । उनले महानगरले समय समयमा कुकुरको बन्ध्याकरण गरी यिनीहरूको संख्या नियन्त्रणका लागि कदम उठाएको बताए । यादवले कुकुरको बन्ध्याकरणमात्र नभई रेविज हुन नदिनका लागि खोप समेत लगाउने गरेको बताए ।
यादवले कुकुर लगायतका चौपाया व्यवस्थापनका लागि महानगर काञ्जीहाउसको व्यवस्थापनमा लागेको र वडा नं. १४ मा काम अघि बढाइएको बताए । कोशी अस्पतालमा कुकुरले टोकेका दैनिक २५ देखि ३० विरामी उपचारका लागि पुग्ने गरेका छन् । अस्पतालबाट रेविज विरूद्धको सुई निःशुल्क उपलब्ध हुने गरेको छ ।