RUMPUM
animated ellipse animated ellipse

तार चोरीको सामान्य विवादका कारण ब्याट्री व्यापारी गुप्ताको हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०८३, बुधबार १६:२३
3
Shares
विराटनगर / तार चोरीको सामान्य विवादका कारण विराटनगरका ६९ वर्षीय ब्याट्री व्यापारी लालजी प्रसाद गुप्ताको हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले आज दिउँसो पत्रकार सम्मेलन गरी गुप्ताको हत्यामा संलग्न मुख्य अभियुक्तसहित तीन जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा १३ वर्षीय एक भारतीय र १६ वर्षीय एक नेपाली नाबालकलाई सार्वजनिक गरेको हो । आलम महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका थिए ।

भारतको वाराणसी स्थायी घर भई विगत चार दशकदेखि विराटनगरमा बस्दै आएका गुप्ताले धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए । कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजे पसलबाट निस्किएका उनी त्यसपछि सम्पर्कविहीन बनेका थिए । त्यसको दुई दिनपछि अर्थात् कात्तिक ८ गते आइतबार बिहान सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा उनको शव वेवारिसे अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार चोरी गरेको भन्दै गुप्ताले आलमबारे बजारमा कुरा फैलाएका थिए । आफूलाई चोरको आरोप लगाएर बदनाम गरेको भन्दै आलम गुप्तासँग रुष्ट बनेका थिए । यही विवादले दुई जनाबीच शत्रुता बढाएको र त्यसैको बदला लिन आलमले गुप्ताको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानअनुसार कात्तिक ६ गते शुक्रबार दिउँसो आलमले गुप्तालाई आफ्नो घरमा बोलाएका थिए । घरमा पुगेपछि दुई जनाबीच विवाद भएको र त्यसक्रममा आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरेको प्रहरीको भनाइ छ । प्रहारबाट गुप्ताको मृत्यु भएपछि घटनालाई लुकाउन आलमले दुई नाबालकको सहयोग लिएको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि शवलाई कार्पेटमा पोको पारेर ओसारिएको र सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा फालिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भनिएका नाबालकमध्ये एक भारतीय र अर्का नेपाली नागरिक हुन् ।

शव भेटिएपछि मोरङ र सुनसरी प्रहरीको संयुक्त टोलीले अनुसन्धान थालेको थियो । तालिमप्राप्त कुकुरको सहयोगमा प्रमाण संकलन गर्दै अघि बढेको प्रहरीले मंगलबार साँझ मुख्य अभियुक्त आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले आलमको साथबाट हत्यामा प्रयोग भएको भनिएको जीआई पाइप, मृतकको रेडमी मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ । बरामद सामग्री तथा अन्य प्राविधिक र भौतिक प्रमाणका आधारमा घटनाको थप अनुसन्धान भइरहेको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्ले बताए । उनका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । चोरीको आरोपबाट सुरु भएको विवादले योजनाबद्ध रूपमा हत्या र शव लुकाउने घटनाको रूप लिएको जानकारी मल्लले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर