पूर्वाञ्चल खबर
कार्यक्रम असोज ८ गते राति ९ः४५ बजेदेखि सुरु भएको थियो। पहिलो दिन भजनकीर्तन आयोजना गरिएको थियो भने दोस्रो दिन भारतबाट आएका कलाकारहरूले झाँकी प्रदर्शन गरेका थिए। त्यस्तै, तेस्रो दिन स्थानीय झाँकी तथा विभिन्न सांस्कृतिक नाचगान प्रस्तुत गरिएको थियो। कार्यक्रममा ४ हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको आयोजकले जनाएको छ। पूजामा सहभागी भक्तजनलाई प्रसादसमेत वितरण गरिएको थियो।
कार्यक्रम संयोजक दिपेशकुमार रायका अनुसार पुर्खौंदेखि मनाउँदै आएको यो पर्व केही कारणले रोकिएको भए पनि पछिल्लो दुई वर्षदेखि पुनः भव्य रूपमा आयोजना गर्न थालिएको हो। समाजमा सद्भाव फैलाउने, धर्म तथा संस्कृतिबारे ज्ञान प्रदान गर्ने र युवा पुस्तालाई सांस्कृतिक परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न स्थानीयहरुको साथ सहयोग रहेको थियो। सो कार्यक्रममा ७ लाख रुपैयाँभन्दा बढी खर्च भएको संयोजक रायले जानकारी दिए। विभिन्न धार्मिक तथा सांस्कृतिक प्रस्तुतिसहित आयोजना गरिएको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।