पूर्वाञ्चल खबर
सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ दशमलव ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले ६१ बल बाँकी छँदै जित निकालेको हो।
लुम्बिनीको जितमा डार्सी शर्टले आक्रामक ब्याटिङ गर्दै १८ बलमा ४० रन बनाए। उनले आफ्नो इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, आसिफ शेखले ३२ रन जोड्दै टोलीको जितलाई सहज बनाए। सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले लुम्बिनीको कसिलो बलिङसामु टिक्न नसक्दा १७ दशमलव २ बलमा ८७ रनमै समेटिएको थियो। सुदूरपश्चिमका ब्याटरले सुरुदेखि नै खुलेर खेल्न सकेनन्। नियमित अन्तरालमा विकेट गुमाउँदा टोली ठूलो योगफल बनाउन असफल भयो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २७ रन बनाए। सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। लुम्बिनीका बलरले विपक्षी टोलीलाई दबाबमा राख्दै सुदूरपश्चिमको ब्याटिङ लाइनअपलाई कमजोर बनाए।
लुम्बिनीका किशोर महतोले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। शेर मल्लले ३ विकेट झारे। त्यस्तै, शेड्ली भान शाल्कविक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले समान १ विकेट लिए।