AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आफ्नो कार्यकालमा सुरु भएका विकास आयोजनामाथि विपक्षीले भ्रम फैलाए : लालबाबु पण्डित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०८२, शुक्रबार १९:३०
144
Shares

विराटनगर / नेकपा (एमाले)का नेता लालबाबु पण्डितले आफ्नो कार्यकालमा सुरु भएका विकास आयोजनामाथि विपक्षीले भ्रम फैलाएको आरोप लगाएका छन् ।

मोरङको बूढीगंगा गाउँपालिकाको कोयलपुरमा आज पत्रकार सम्मेनल गर्दै पण्डितले एमालेले अघि बढाएका बहुवर्षीय योजनालाई कांग्रेसले तोडमोड गरी प्रस्तुत गरेको दाबी गरे । मोरङ क्षेत्र नं. ६ का पूर्व सांसद समेत रहेका नेता पण्डितले विशेषगरी कोयलपुर–रानी सडक खण्डजस्तो बहुचर्चित गौरवको आयोजनालाई उदाहरण दिँदै सो योजना आफ्नै कार्यकालमा सुरु गरिएको र शिलान्यासदेखि प्रारम्भिक कार्यान्वयनसम्म महत्वपूर्ण काम सम्पन्न भएको बताए।

पण्डितले कुनै पनि दीर्घकालीन योजना रातारात तयार नहुने स्पष्ट पार्दै गुरुयोजना निर्माणमै ९ महिना लागेको स्मरण गराए। ‘झुटो कुरा झुट्टै हुन्छ, चाहे त्यो ठूलाले बोलून् या सानाले,’ भन्दै उनले शिलान्यास स्तम्भ नै प्रमाणका रूपमा उभिएको दाबी गरे। आफू जनप्रतिनिधि नरहेपछि ती योजनाहरूले निरन्तरतामा पाउन नसकेको बताउँदै पण्डितले विकासको जस लिन खोज्नेहरूमाथि प्रतिवाद समेत गरे । मोरङ–६ बाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि आफूले विकासका धेरै काम गरहेको उनको भनाइ छ ।

२०७४ सालमा उनले कांग्रेसका डा. कोइरालालाई पराजित गरेका थिए । २०७९ सालको निर्वाचनमा भने पण्डित कोइरालासँगै पराजित भए । २०७९ सालको निर्वाचनपछि आफू प्रत्यक्ष भूमिकामा नरहे पनि आफ्नो कार्यकालमा अघि बढाइएका योजनाहरूको अभिलेख सुरक्षित रहेको पण्डितले बताए ।

पण्डितले वर्तमान राजनीतिक प्रतिस्पर्धालाई ‘विकास गर्ने र नगर्ने शक्तिबीचको लडाइँ’को संज्ञा दिए। उनले विकासको एजेन्डालाई नै मुख्य मुद्दा बनाउनुपर्नेमा जोड दिँदै एमालेले गरेका कामलाई तथ्यसहित जनतामाझ लैजाने बताए । नयाँ राजनीतिक शक्तिहरूप्रति समेत उनी आक्रामक देखिए ।

सामाजिक सञ्जालमा मात्रै सक्रिय रहने प्रवृत्तिलाई लक्षित गर्दै उनले त्यस्ता समूहलाई ‘फेसबुके पार्टी’को संज्ञा समेत दिए। मोरङ क्षेत्र नम्बर ६ का एमाले उम्मेदवार विनोद ढकाल बुवाको निधनपछि कोरामा बसेका छन् ।

ढकालको अनुपस्थितिमा चुनावी अभियानको नेतृत्व पण्डितले सम्हालेका छन् । उनले अभियानलाई विकासको निरन्तरतासँग जोड्दै मतदातासमक्ष तथ्य र कामका आधारमा समर्थन माग्ने रणनीति अघि सारे । पछिल्लो समय राजनीतिक बहससँगै मोरङ क्षेत्र नम्बर ६ मा विकासको दाबी र आरोप प्रत्यारोपले चुनावी माहोल तातेको छ ।

एमालेले आफ्नो कार्यकालका उपलब्धि प्रस्तुत गरिरहेको छ । त्यति मात्रै हैन, आफ्नो कार्यकालमा भएका काममा कांग्रेसले जस लिन खोजेको आरोप एमालेको छ । पण्डितले आफ्नो कार्यकालको कामलाई देखाएर डा. शेखर कोइरालाले भोट माग्दै अनेक भ्रम फैलाउन खोजेको उल्लेख गरे ।

आगामी फागुन २१ गतेको निर्वाचनका लागि मोरङ–६ बाट एमालेका ढकाल, कांग्रेसका डा. कोइराला, रास्वपाकी रुविना आचार्य, नेकपाका ओपेन्द्र रायलगायत १७ जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर