RUMPUM
animated ellipse animated ellipse

गलत प्राथमिक उपचार र अस्पताल पुग्न ढिलाइ गर्दा सर्पदंशबाट जोखिम: बर्सेनि एक हजारको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ आश्विन २०८३, मंगलवार १७:०२
3
Shares
विराटनगर/ सर्पदंशपछि अपनाइने गलत प्राथमिक उपचार र अस्पताल पुर्‍याउन हुने ढिलाइका कारण धेरै बिरामीले अकालमै ज्यान गुमाउनुपरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

फेयरमेड र सिबिआर विराटनगरले मंगलबार आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरूले सर्पदंशको जोखिम न्यूनीकरणका लागि तत्काल अस्पताल पुग्ने वातावरण र समुदायस्तरमा सचेतना आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठले नेपालमा बर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्ने र त्यसमध्ये करिब एक हजार जनाको मृत्यु हुने अनुमानित तथ्याङ्क प्रस्तुत गरे। उनका अनुसार विशेषगरी तराई क्षेत्रका कृषक, कृषि मजदुर, माछा मार्ने व्यक्ति तथा बालबालिका सर्पदंशको उच्च जोखिममा छन्।

‘नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये गोमन, करैत, किङ कोब्रा, भाइपरसहित १७ प्रजाति मात्र विषालु रहेको जानकारी दिँदै श्रेष्ठले भने, ‘सर्पले डस्नासाथ धामीझाँक्रीकहाँ लैजाने, टोकेको ठाउँ काट्ने वा चुस्ने, डाम्ने तथा कसिलो गरी बाँध्ने जस्ता गलत अभ्यासले बिरामीको अवस्था झन् गम्भीर बनाउँछ।’ यस्ता अन्धविश्वास र घरेलु उपचारमा समय खेर नफाली बिरामीलाई जतिसक्दो छिटो एन्टिभेनमसहितको स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने उनले बताए।

बिरामीलाई कसरी जोगाउने ?
नेपालको सर्पदंश व्यवस्थापन निर्देशिका अनुसार सर्पले टोकेपछि बिरामीलाई नआत्तिई शान्त राख्न, हिँडडुल गर्न नदिन र प्रभावित अङ्गलाई काम्रो (स्प्लिन्ट) को सहायताले स्थिर बनाएर तत्काल अस्पताल लैजान सुझाव दिइएको छ। विष फैलिँदा शरीर सुन्निन सक्ने भएकाले हातखुट्टामा रहेका औँठी, चुरा र अन्य कसिला वस्तु फुकाल्नुपर्ने चिकित्सकको सुझाव छ।

फेयरमेडकी वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत रुषा उपाध्यायले सर्पदंशबाट हुने क्षति न्यूनीकरण गर्न जोखिमयुक्त समुदायसम्म सही र वैज्ञानिक सूचना पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताइन्। यस्तै, सिबिआरका जिल्ला प्रोजेक्ट संयोजक जेनिश चौधरीले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय गरी आपत्कालीन यातायातको व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्यु र अपाङ्गता ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ। विज्ञहरूले स्थानीय तहहरूलाई एन्टिभेनम, आवश्यक स्वास्थ्य उपकरण, भेन्टिलेटर तथा तालिमप्राप्त स्वास्थ्यकर्मीको उपलब्धता सुनिश्चित गर्न आग्रह गरेका छन्। साथै, सर्पदंशबाट बच्न खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउन, राति हिँड्दा टर्च प्रयोग गर्न, भुइँमा नसुत्न र अनिवार्य रूपमा झुल प्रयोग गर्न सुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर