पूर्वाञ्चल खबर
उद्योग संगठन मोरङले संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारीसँग सोमबार गरेको अन्तरसंवादमा औद्योगिक लगानीको वातावरण सुधार गर्न नीतिगत सहजीकरण आवश्यक रहेको औंल्याएको हो ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले उत्पादन लागत घटाउने, औद्योगिक पूर्वाधार विस्तार गर्ने र निजी क्षेत्रको लगानीप्रतिको विश्वास बढाउने नीति आवश्यक रहेको बताए । नयाँ लगानी आकर्षित गर्न तथा सञ्चालनमा रहेका उद्योगको उत्पादन क्षमता विस्तार गर्न उद्योगमैत्री वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
उद्योगीहरूका अनुसार उत्पादन लागत बढ्दा नेपाली उत्पादनले छिमेकी मुलुकका वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ । त्यसैले विद्युत् महसुलमा लाग्ने भ्याट खारेज गर्नुका साथै औद्योगिक उत्पादन र निर्यात प्रवद्र्धनमा सरकारले प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ ।
संगठनका पूर्वअध्यक्ष सुयश प्याकुरेलले नेपाली उद्योगको उत्पादन क्षमता विस्तारसँगै निर्यातमुखी औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताए । छिमेकी मुलुकका ठूला बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी आपूर्तिकर्ताका रूपमा स्थापित गर्न सके औद्योगिक विकास र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ थियो ।
त्यस्तै, निवर्तमान अध्यक्ष राकेश सुरानाले विभिन्न कारणले बन्द भएका उद्योग पुनः सञ्चालन गर्न सकिने नीतिगत व्यवस्था गर्नुपर्ने बताए । बन्द उद्योगलाई पुनः सञ्चालनको अवसर दिँदा विद्यमान औद्योगिक संरचनाको उपयोग हुनुका साथै उद्यमशीलताको संरक्षण र लगानी विस्तारमा समेत सहयोग पुग्ने उनले उल्लेख गरे ।
संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योग स्थापना तथा सञ्चालनका क्रममा देखिने प्रक्रियागत जटिलता हटाउनुपर्नेमा जोड दिए । अर्का उपाध्यक्ष विपिन कावराले औद्योगिक विकासका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको बताए ।
छलफलमा उद्योगीहरूले उत्पादन लागत, विद्युत् महसुल, औद्योगिक पूर्वाधारको अवस्था, उद्योग सञ्चालनसम्बन्धी नीतिगत जटिलता र निर्यात प्रवद्र्धनका चुनौतीबारे सभापति अन्सारीको ध्यानाकर्षण गराएका थिए ।
सभापति अन्सारीले उद्योग तथा व्यवसाय क्षेत्रका समस्या र लगानीको वातावरणसँग सम्बन्धित विषय औद्योगिक विकासका लागि महत्त्वपूर्ण रहेको बताए । उद्योगीहरूले उठाएका विषय तथा सुझावको अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।