पूर्वाञ्चल खबर
विराटनगरलाई सफा र हराभरा बनाउने उद्देश्यका साथ उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा आज दोस्रो साताको सरसफाइ गरिएको हो।
अभियानअन्तर्गत विराटनगर–इटहरी सडकखण्डको मुनालपथदेखि दक्षिण क्षेत्रको सडक डिभाइडर तथा त्यहाँ रोपिएका बिरुवा आसपासको क्षेत्रमा सरसफाइ गरिएको थियो।
अभियानमा महानगरपालिकासँगै नेपाल फूलबारी, स्वास्थ्य र शान्तिका लागि वातावरण, सगरमाथा मल्टि सर्भिस, गो ग्रीन विराटनगर तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र स्थानीयको उल्लेख्य सहभागिता थियो।
कार्यकालको अन्त्यतिर मात्र अभियान सुरु गरेको भन्दै नगरबासीले गरेको गुनासोबारे स्पष्ट पार्दै उपप्रमुख कार्कीले यो अभियान पहिले नै सुरु गरिएको भए पनि प्राविधिक कारणले रोकिएको बताइन्। ‘हामीले यो अभियान पहिले पनि सुरु गरेका थियौँ, तर विविध प्राविधिक कारणले निरन्तरता पाउन सकेको थिएन,’ उनले भनिन्, ‘अहिले वर्षायाममा अत्यधिक झार पलाएकाले विराटनगरबासीलाई जागरुक गराउन पुनः अभियान थालिएको हो। यसले अब निरन्तरता पाउँछ।’
महानगरमा फोहोर व्यवस्थापनका लागि तीनवटा साझेदार संस्था हुँदाहुँदै किन अभियान चलाउनुपर्यो भन्ने प्रश्नमा उपप्रमुख कार्कीले साझेदार संस्थाले नियमित फोहोर संकलनको काम गरिरहेको भए पनि नागरिकलाई आफ्नै घरआँगन सफा राख्न सचेत गराउन अभियान थालिएको प्रस्ट पारिन्। ‘आफ्नो घर अगाडिको झारपात उखेल्ने र फोहोर डस्टबिनमा फाल्ने बानीको विकास गर्न यो अभियान थालिएको हो,’ उनले भनिन्, ‘यो महानगर वा साझेदार संस्थाले मात्र गर्ने नभई सम्पूर्ण नगरबासीलाई जागरुक गराउने अभियान हो।’
हाल सडक डिभाइडर क्षेत्रमा केन्द्रित यो अभियान छिट्टै सबै वडामा विस्तार गरिने उपप्रमुख कार्कीले जानकारी दिइन्। सडक डिभाइडरको काम आगामी साता सकिएपछि महानगरका १९ वटै वडाका टोल र गल्लीहरूमा पुगेर फोहोर व्यवस्थापन गरिने उनले बताइन्।
महानगरलाई उत्तर, मध्य र दक्षिण गरी तीन क्षेत्रमा विभाजन गरेर वडाध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय क्लब तथा संघसंस्थासँग समन्वय गरी एकैसाथ व्यापक रूपमा अभियान अघि बढाउने तयारी भइरहेको कार्कीको भनाइ छ।