RUMPUM
animated ellipse animated ellipse

विपदसित जुध्न महानगरलाई सहयोग गर्ने सरोकारवालाहरुको प्रतिबद्धता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ असार २०७९, बुधबार १९:४१
216
Shares
विराटनगर / बाढी र डुबानका कारण उत्पन्न समस्यासित जुध्न आफूहरु विराटनगर महानगरपालिकासँगै रहेको सरोकारवालाहरुले बताएका छन् ।

अविरल वर्षापछि उत्पन्न समस्या समाधान र भावी दिनमा आइपर्ने विपदमा कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा महानगरपालिकाले आयोजना गरेको छलफलमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको उपस्थितिमा भएको छलफलमा प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले बाढी र डुबानबाट विस्थापितहरुको राहतका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “प्याब्सनका तर्फबाट खाद्यन्नको व्यवस्थापन गर्छौं, त्यसका लागि आजभोलि नै बोर्डबाट निर्णय गर्छौं ।” महानगरले आवश्यक ठानेर जुनसुकै बेला बोलाए पनि सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो ।

त्यस्तै नारी विकास संघकी अध्यक्ष सीता शर्माले हाल संघले ४० परिवारलाई आश्रय दिएको जानकारी दिइन् । उनले सबैको सहकार्य र एकता बिना विपदको साधना गर्न नसकिने बताइन् । ओरेककी गोमा भण्डारीले सुत्केरी र गर्भवतीहरुको सुरक्षा, आवास र परामर्श दिन तयार रहेको प्रतिबद्धता जनाइन् । एन–प्याब्सनका अध्यक्ष पराग ढुंगानाले विस्थापितलाई राख्नका लागि स्थान अभाव भए आफ्ना विद्यालयहरु उपलब्ध गराउन तयार रहेको बताए ।

छलफलमा मेयर नागेश कोइरालाले महानगरको एक्लो प्रयासले मात्रै विपदको सामना गर्न नसक्ने भएकाले निजी क्षेत्र, गैरसरकारी संघसंस्थाको सहयोग आवश्यक रहेको उल्लेख गरे । छलफलमा विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधान, शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, महानगर प्रहरीका प्रमुख राजन पौडेललगायतले बाढी र डुबानबाट पीडितको उद्धार, राहत वितरण, विस्थापितको अवस्थालगायतका विषयमा जानकारी गराएका थिए । महानगर क्षेत्रभित्र हाल ३ सय परिवार तत्कालका लागि पूर्ण रुपमा विस्थापित भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर