पूर्वाञ्चल खबर
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन एवं पारदर्शीता कायम राख्ने उद्देश्यले परिसंघ कोशी प्रदेशले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा परिसंघका अध्यक्ष पवनकुमार सारडाले परिसंघ केन्द्रले आर्थिक वर्ष २०७९/०८० देखि नै संघीय बजेटमार्फत ल्याइने निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित बुँदाहरूको वार्षिक कार्यान्वयन प्रगति अध्ययन गर्दै ‘बजेट वाच’ संचालन गर्दै आएको र प्रभावकारी रूपमा अगाडि बढिरहेको बताए ।
उनले बजेटका प्रभावकारी कार्यान्वयन हुन नसक्दा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणको गतिलाई प्रत्यक्ष असर पर्ने गरेको बताए । अध्यक्ष सारडाले परिसंघ कोशी प्रदेशले अनुभव र मान्यताका आधारमा यस वर्षदेखि सरकारले ल्याएको बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यले प्रदेशस्तरीय ‘बजेट वाच’ पहल शुरू गरेको बताए ।
प्रदेश सरकारका बजेटमा पनि हरेक वर्ष औद्योगिक विकास, लगानी प्रवद्र्धन, कृषि, पर्यटन, पूर्वाधार, उर्जा र राजश्व प्रशासनसँग सम्बन्धित महत्वपूर्ण घोषणा हुने गरेको बताउँदै अध्यक्ष सारडाले कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत ल्याएका बजेटको प्रभावकारी कार्यान्वयन प्रदेशको आर्थिक समृद्धिका लागि अपरिहार्य रहेको बताए । उनले परिसंघ कोशीले बजेट वक्तव्यको सुक्ष्म ढंगबाट अध्ययन गरी निजी क्षेत्र तथा प्रदेशको अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने बुँदाको पहिचान गरेको बताए ।
अध्यक्ष सारडाले कोशी प्रदेश सरकार, सम्बन्धित मन्त्रालय तथा निकायहरूले दस्तावेजमा औंल्याइएका सुझावलाई गम्भीरतापूर्वक लिई समयमै कार्यान्वयन गरी आर्थिक विकासलाई तिव्रता दिने विश्वास परिसंघले कोशी प्रदेशले लिएको बताए ।
दस्तावेजमा बजेट वक्तव्यमा गरिएको प्रावधानमध्ये औद्योगिक विकासतर्फ बुँदा नं. ४१, ६१, ६४, ११५,१३५, कृषितर्फ बुँदा नं. १०६, १०७, १०९, १११, पर्यटनतर्फ बुँदा नं.६९, ७१, ७२, ७३, ७४,९३, पूर्वाधारतर्फ बुँदा नं. ४४, ४६, ४८, ५०, ७५, उर्जातर्फ बुँदा नं. ५५ राजश्व प्रशासनतर्फ बुँदा नं. १३९, १४०, १६० शिक्षा तथा श्रमतर्फ ८०, ८१ र सूचना प्रविधितर्फ बुँदा नं. ४० र १३१ मा सुधार गरिनु पर्ने कार्यलाई विस्तृत रूपमा वर्णनमात्र गरिएको छैन, सम्बन्धित निकायसमेत उल्लेख गरिएको छ ।
कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोले दस्तावेजले बजेटको सटिक कार्यान्वयनमा सहयोग गर्ने बताए । उनले कम लागतमा उत्पादन गर्न सकियो भने कम मूल्यमा उत्पादन बिक्री गर्न सकिने बताए । मन्त्री महतोले कृषि उत्पादनलाई प्रवद्र्धन नगरीकन कोशी प्रदेश समृद्ध बन्न नसक्ने बताए ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले संघीय सरकारले प्रदेश सरकारलाई दिनु पर्ने अधिकार नदिएकोले प्रदेश सरकारको बजेटको आकार खुम्चिने गरेको बताए । उनले यस अघि बीना तथ्याङ्क र तयारी कोशी प्रदेश स्तरीय बजेट वितरण गरिँदा कार्यान्वयनमा प्रशस्तै चुनौती र अवरोधको सामना गर्नु परेको बताए । उनले योजना बैंकबाट आएका योजनामा मात्र बजेट विनियोजन गरिएको हुँदा बजेटको कार्यान्वयन प्रभावकारी हुने ठोकुवा गरे ।
परिसंघ कोशी प्रदेशका वरीष्ठ उपाध्यक्ष प्रकास मून्ढडाले परिसंघले बजेटको अक्षरसः र स्वस्थ्य कार्यान्वयनका लागि परिसंघ कोशी प्रदेशले ‘वाच डग’को भूमिका खेल्ने बताए । उनले यस्ता दस्तावेज र कार्यक्रमले कोशी प्रदेशको विकासमा ठूलो योगदान पुग्ने बताए । परिसंघले दस्तावेज कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।