AArya
RUMPUM
animated ellipse animated ellipse

हाजी आँखा अस्पतालमा शेयर विवाद : सञ्चालक गुप्तामाथि डेढ करोड बक्यौताको आरोप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ आश्विन २०८३, शनिबार १९:३८
3
Shares
विराटनगर / विराटनगरस्थित हाजी आँखा अस्पतालका सञ्चालक मन्नुकुमार गुप्तामाथि शेयर बिक्रीबापतको १ करोड ५८ लाख रुपैयाँ भुक्तानी नगरेको आरोप लागेको छ।

अस्पतालका अन्य शेयरधनीहरूले आफूहरूले शेयर बिक्री गरेको ११ महिना बितिसक्दा पनि रकम नपाएको भन्दै न्यायका लागि कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।

अस्पतालका कुल १६ जना सञ्चालकमध्ये गुप्ताबाहेक अन्य सबैले आफ्नो शेयर बिक्री गरेका थिए। पीडित शेयरधनीहरूका अनुसार डा. गुणराज कट्टेलको ५ लाख ७८ हजार, जेउल कमरको १९ लाख ६२ हजार ६०७, राजेश शाहको ३० लाख ६३ हजार ४०० र मो. अतहर अन्सारीको ५० लाख ८० हजार १५६ रुपैयाँ भुक्तानी हुन बाँकी छ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै शेयरधनीहरूले आफूहरूलाई गत वर्षको जेठ महिनामै दिएको चेक साट्न खोज्दा खातामा पर्याप्त रकम नभएको (बाउन्स भएको) बताए। पीडितमध्येका मो. अतहर अन्सारीको पक्षमा गत असोज २ गते उच्च अदालत विराटनगरले फैसला सुनाइसकेको भए पनि अझै रकम प्राप्त नभएको उनीहरूको गुनासो छ।

अदालतको आदेशपछि गुप्ताले कालोसूचीमा पर्नबाट जोगिन कुमारी बैंकमार्फत प्रक्रिया अघि बढाएको र बैंकका कर्मचारीकै मिलेमतोमा निवेदन फिर्ता लिन लगाएर रकम नदिएको पीडितहरूको आरोप छ। शेयरधनीहरूले बैंकका कर्मचारीमाथि समेत छानबिनको माग गर्दै सोमबार प्रहरीमा उजुरी दिने तयारी गरेका छन्।

यता सञ्चालक मन्नुकुमार गुप्ताले भने आफूमाथि लगाइएका सबै आरोप निराधार भएको दाबी गरेका छन्। शेयरबापतको सम्पूर्ण रकम चुक्ता भइसकेको दाबी गर्दै उनले भने, ‘मेरो चरित्रहत्या गर्ने उद्देश्यले यस्ता झुटा आरोप लगाइएको हो। मसँग सबै प्रमाण सुरक्षित छ र यो विषय अहिले अदालतमा विचाराधीन छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर