AArya
RUMPUM
animated ellipse animated ellipse

चाडपर्वमा यात्रुको चाप बढेसँगै मोरङसहित कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सुरक्षित यात्रु सहायता कक्ष सञ्चालनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ आश्विन २०८३, शुक्रबार १८:१३
3
Shares
विराटनगर / दशैं, तिहार र छठलगायतका चाडपर्वमा घर फर्किने यात्रुको चाप बढेसँगै मोरङसहित कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन प्रहरीले निगरानी बढाएको छ ।

चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा यात्रा क्रममा हुन सक्ने बढी भाडा असुली, टिकटमा ठगी, दुर्व्यवहार र अन्य समस्याको तत्काल सुनुवाइ एवं समाधानका लागि मोरङका विभिन्न १० स्थानसहित कोशी प्रदेशका ४८ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आजदेखि यात्रु सहायता कक्ष सञ्चालनमा आएको हो ।

सहायता कक्षको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक शेखर खनालले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै डीआईजी खनालले सार्वजनिक यातायातमा बढी भाडा लिने, यात्रुलाई ठगी गर्ने, दुर्व्यवहार गर्ने वा अन्य कुनै समस्या सिर्जना भए सहायता कक्षमा रहेका प्रहरी तथा यातायात व्यवसायीका प्रतिनिधिलाई जानकारी गराउन आग्रह गरे ।

यात्रुको गुनासो सुन्ने मात्रै नभई तत्काल समाधानका लागि प्रहरी सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले चाडपर्वका बेला यात्रुलाई कुनै पनि बहानामा दुःख दिन नहुने बताए । ‘यात्राका क्रममा समस्या परेपछि प्रहरी कार्यालय खोज्दै हिँड्नुपर्ने अवस्था आउने छैन । सहायता कक्षबाटै यात्रुका गुनासा सुन्ने र तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउनुका साथै यात्राका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रहरीसँग तत्काल सम्पर्क गराउने व्यवस्था गरिएको छ ।

चाडपर्वमा घर फर्किने तथा गन्तव्यतर्फ जाने यात्रुको संख्या बढ्ने भएकाले सार्वजनिक यातायातमा हुन सक्ने ठगी, चोरी तथा अन्य समस्यालाई नियन्त्रण गर्न प्रहरीको उपस्थिति बढाइएको हो ।

यात्रा क्रममा कुनै समस्या परेमा सहायता कक्षमार्फत प्रहरीसम्म तत्काल पहुँच पुर्‍याउन सकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । यसबाट यात्रुलाई आवश्यक जानकारी लिन, समस्या तथा गुनासो राख्न र सुरक्षासम्बन्धी सहयोग लिन सहज हुने अपेक्षा गरिएको छ ।

चाडपर्वको समयमा यात्रुको आवागमन व्यवस्थित बनाउन तथा सार्वजनिक यातायात क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहायता कक्षलाई केन्द्रित गरिएको प्रहरीको भनाइ छ ।

कार्यक्रममा मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल, कोशी प्रदेश प्रहरी कार्यालयका एसपी नारायण चिमरियालगायतको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर