animated ellipse animated ellipse

हाहाकार मच्चिने डरले एलपी ग्यासको भण्डारण सुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०७८, मंगलवार १९:३१
1.11k
Shares
अनुज सापकोटा
विराटनगर / युक्रेन–रूस युद्धको कारण ग्यास आपूर्ति ठप्प भइ हाहाकार मच्चिने डरले सर्वसाधारणले एलपी ग्यासको भण्डारण सुरू गरेका छन् ।

युद्धको प्रभावबाट नेपाल अछुतो बन्न सकेको छैन । उद्योगदेखि भान्सासम्म र कच्चा पदार्थदेखि खाद्यान्न सामग्रीको मूल्य अचाक्ली बढ्दो छ । विद्युतदेखि कोइलासम्मको संकटले त्रास फैलिएको छ । ग्यासको मूल्य बढ्ने र नपाइएर हाहाकार मच्चिने हो की भन्ने डरले सर्वसाधारणले एलपी ग्यासको भण्डारण थालेका छन् । उच्च पदस्थ पदाधिकारीदेखि सर्वसाधारणसम्म एलपी ग्यास भण्डारणमा व्यस्त बन्दै गएका छन् ।

ग्यास नपाइएर भान्सामा खाना पकाउन आपत पर्ने हो भन्ने शंकाका कारण सर्वसाधारण सबै काम छाडेर ग्यासको जोहो गर्नेतर्फ लागेका छन् । युद्धलाई लिएर सामाजिक सञ्जाल र भारतीय टिभी च्यानलमा प्रवाह भइरहेको नकारात्मक टिका टिप्पणीका कारण अवस्था भयावह बनी भान्साको चुल्हो नबल्ने हो की भन्ने डरका कारणपनि भरिएको सिलिण्डरको जोहोमा विराटनगरवासी व्यस्त बन्न थालेका छन् ।

एलपी ग्यासको लागि पनि भारतकै भर छ । विदेशी मुलुकहरूले इन्धन लगायतका सामग्री भारतबाट खरिद गर्न थालेका छन् । बेला बेलामा भारतले दिने दुःखदेखि अत्तालिएका सर्वसाधारण बेलैमा एलपी ग्यासको सिलिण्डर स्टक गरेर आइपर्ने झन्झटबाट मुक्त हुन खोजेको देखिएको छ । विराटनगर–२ का भरत प्रधान दिनैभर एलपी ग्यासको जोहोमा व्यस्त बने । प्रधान ले नेपाल आत्मनिर्भरको साटो परनिर्भर रहेको र यहाँ कतिखेर के को अभाव हुन्छ त्यो भन्न नसकिने भन्दै बेलैमा ग्यासको भण्डारण थालेको सुनाए ।

ग्यास विक्रेता महासंघ नेपाल प्रदेश नं. १ का अध्यक्ष सरलराज पोखरेलले आम मानिसमा एलपी ग्यास नपाइने हो की भन्ने मनोवैज्ञानिक डर रहेको बताए । उनले पर्याप्त परिणाममा ग्यास रहेको बताउँदै नअत्तालिन सर्वसाधारणलाई अनुरोध गरे । पोखरेलले भने,‘ भारतले युक्रेन र रूसको ग्यास नभइ नेपाललाई इरानबाट ल्याइएको ग्यास बिक्री गर्ने गरेको छ । भारतले इरानबाट ग्यास आपूर्ति गर्ने गरेको छ । नेपालमा तत्कालै एलपी ग्यासको कुनै समस्या हुने मैले देखेको छैन । ’

तर राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम ऐन लागु नभएको, प्रतिवेदन अनुसारको ढुवानी भाडा लागु नगरिएको, एलपी ग्यास ढुवानी गर्ने सवारी साधनको हकमा स्वचालित ढुवानी भाडा कायम गर्ने व्यवस्था लागु हुनु पर्ने माग सहित चरणवद्ध आन्दोलन जारी राखेको छ ।

चैत २० गतेबाट माग पुरा नगरिए एलपी ग्यास उद्योग र ग्यास विक्रेताले ग्यासको बिक्री वितरण बन्द गर्ने समितिले चेतावनी दिएको छ । राज्यले कानमा तेल हालेर बस्नुको साटो समितिसँग वृहत छलफल गरेर ठोस निश्कर्ष निकाल्नु पर्ने विज्ञको सुझाव छ । अनुज सापकोटा न्यू सृष्टि दैनिकका प्रमुख सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर