चिट पासो थापेर विद्यार्थीमाथि बलात्कार, छोरासँग गुहार माग्दा पनि सहयोग नपाएको युवतीको भनाइ

खबर पूर्वाञ्चल, ३ भाद्र २०७९, शुक्रबार १८:२८
14.02k
Shares
विराटनगर /चार महिनाअघि विराट हेल्थ कलेजमा दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेका बेला अनुशासन प्रमुख (डीआई) सुरज भनिने अमर सुवेदी परीक्षा हलमा प्रवेश गरे । परीक्षा दिइरहेकी १८ वर्षीया किशोरीलाई चिट दिन खोजे, लिन नमानेपछि फालेर बाहिरिए । परीक्षा सकेर किशोरी डेरा गइन् ।

केही समयपछि कसैले ढोका ढकढकाक्यो । ढोका खोलेपछि सुवेदी कोठाभित्र पसेर पानी मागे । ‘मैले पानी दिएँ, पानी खाइसकेपछि मलाई एक सय रुपैयाँ दिएर चुरोट किन्न पठाउनुभयो,’ पीडित किशोरीले बयानमा भनेकी छन्, ‘चुरोट लिएर आएपछि मलाई पानी पिउन दिनुभयो । पानी खाइसकेपछि चक्कर लागेजस्तो भयो ।’

रिंगटा लागेर भुईँमा ढलेपछि के भयो उनलाई थाहा छैन । उनी होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको छ । उनले भनिन्, ‘होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको थियो । कोठामा बियरका बोतल, चुरोटका ठुटा र कागज छरपष्ट थियो, बेडमा रगतको टाटै–टाटा थियो । मेरो जिउमा भित्री बस्त्र समेत थिएन ।’

किशोरीका अनुसार सुवेदीले बलात्कार गरेको उनले भोलिपल्ट बिहानमात्र थाहा पाइन्, यो त पहिलो घटनामात्र थियो ।

किशोरीले बताएअनुसार करणीको भिडियो देखाएर सुवेदीले धम्क्याउँदै कहिले डेरामा त कहिले होटलमा लगेर करणी गरे । उनी सुरक्षितस्थल खोज्दै चार पटक कोठा सरिन्, तर उनको नियती रोकिएन ।

किशोरीलाई सुवेदीले खाँदबारीमा लगेर पनि बलात्कार गरे । ‘मलाई मिति र समय याद भएन, जेठ अन्तिमतिर धरान आइज भन्दै धम्काएपछि म बस चढेर धरान गएँ,’ किशोरीले बयानमा भनेकी छन्, ‘धरान पुगेपछि त्यतैबाट मोटरसाइकलमा राखेर संखुवासभाको खादबारीमा लगेर भेनस होटलमा ३ दिन राखी पटक पटक जवरजस्ती करणी गरे ।’

चार महिनामा तीन पटक कोठा सरेकी किशोरीलाई पछिल्लो पटक असार २८ गते डेरामै पुगेर सुवेदीले बलात्कार गरे ।

चार महिनादेखि चलेको यो शृङ्खलामा विराटनगरका जग्गा कारोबारी विनोद राउत पनि जोडिएका छन् । जेठ अन्तिम साता किशोरीलाई बेलुका सुवेदीले विराट होटलमा बोलाएका थिए । १०४ नम्बर कोठामा राउत पनि पुग्छन् ।

दुवैजनाले करणी गरेपछि राति नै होटलबाट बाहिरिएको पीडित किशोरीले बताएकी छन् । मानसिक रुपमा विछिप्त किशोरीलाई होटलमा लगेको समय याद नभएको र होटलको रेकर्डमा नाम पनि नभेटिएका कारण समय खुलेको छैन ।

सुवेदी र राउत साथी हुन् । उनीहरु दुवै राष्ट्रिय खेलकुद परिषद्को मोरङको कराते प्रशिक्षक पनि हुन् ।

छोरासँग गुहार

डीआईले पटक पटक करणी गरेपछि मानसिक रुपमा विछिप्त किशोरी गत चैतदेखि नियमित कलेज गएकी थिइनन् । तर पनि सुवेदीले पिछा गर्न छाडेनन् । त्यसपछि पीडित किशोरीले सुवेदीका छोरालाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर आफूमाथि भएको जवर्जस्ती सुनाउँदै बुबालाई सम्झाउन आग्रह गरिन् ।

सुवेदीका कारण आफ्नो जीवन बर्बाद भएको भन्दै उनले सन्देशमा लेखेकी छन्, ‘लास्ट गर्दै हुनुहुन्छ, के गर्नु म ? प्लिज मेरो लास्ट होप तपाईंमात्रै हो अब ।’

तर उनले बुबालाई सम्झाउन नसक्ने जवाफ फर्काए । किशोरीले आमा (सुरजको श्रीमती) को फोन नम्बर पनि मागेकी थिइन् । तर ममीलाई पनि हर्ट हुने भन्दै फोन नम्बर दिएनन् । पीडित किशोरी मानसिक रुपमा विक्षिप्त भइन् ।

६ साउन कलेजबाट पीडित किशोरीको घरमा फोन गएपछि भने घटनाले नयाँ मोड लियो । उनी लामो समयदेखि कलेज नै नगएको खबर पाएपछि अभिभावकले सोधीखोजी गरे ।

अधिकतम सजायको मागदाबी

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय मोरङले सुवेदी र राउतले सामूहिक जवरजस्ती करणी गरेको दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको छ । मुद्दाको थुनछेक बहस आइतबारबाट हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले आरोपीलाई अधिकतम १५ वर्षसम्मको कैद सजाय माग गरेको छ ।

दुवै आरोपीले भने घटनामा संलग्नता इन्कार गरेका छन् । सुवेदीले किशोरीलाई आफूले चिनेपनि करणी नगरेको दाबी गरेका छन् भने राउतले नचिन्ने दाबी गरेका छन् ।

तर दुवैले पटक–पटक किशोरीलाई टेलिफोन सम्पर्क गरेको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मेडिकल रिपोर्टमा पटकपटक करणी भएका कारण यौनाङ्गमा चोट रहेको उल्लेख छ । घटनापछि किशोरीमा ‘पोष्ट ट्रमा स्टेस्स डिसअडर’ र ‘एडजसमेन्ट डिसअडर’ देखिएको मेडिकल रिपोर्टमा उल्लेख छ ।

अनुसन्धानका क्रममा प्रहरीले पोलिग्राफ जाँच पनि गरेको थियो । तर अभियोग पत्रमा सो विषय समावेश छैन ।

सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताको दफा २१९ को ३ को देहाय (ङ) बमोजिम सात वर्षदेखि १० वर्षसम्मको कैद तथा सामूहिक करणी गरेको तर्फ सोही संहिताको दफा २१९ (७) बमोजिम थप पाँच वर्ष कैद सजाय माग गरेको छ ।अनलाइनखबरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Anish dahal लेख्नुहुन्छ

    Yini haru lai sakdo karwahi hunupar6

  2. Bodhartha pokharel लेख्नुहुन्छ

    Yiniharulai sajayale matra pugdaina iniharuko balatkaar garne linganai katidinu par6 taki aba upranta hamra cheliharu surakshit hun…..

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५