पूर्वाञ्चल खबर
पार्टीले नयाँ निर्वाचन समितिको संयोजकका रूपमा कांग्रेस मोरङका सहसचिव सञ्जयकुमार मण्डललाई जिम्मेवारी तोकेको छ। जिम्मेवारी पाएसँगै संयोजक मण्डलले आज औपचारिक पत्राचार गर्दै शुक्रबार बिहान ७ बजेदेखि बुढीगंगा गाउँपालिका–३ बासवारीस्थित राजवंशी खवास सामुदायिक भवनमा अधिवेशन तथा निर्वाचन प्रक्रिया पुनः सुरु हुने जानकारी दिएका छन्।
यसअघि मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको भवनमा आयोजित क्षेत्रीय अधिवेशनस्थलमा कार्यकर्ताहरूबीच तीव्र विवाद, झडप र कुर्सी–टेबल तोडफोड भएपछि निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि अवरुद्ध बनेको थियो।
पार्टीकी सहमहामन्त्री डा ।डिला संग्रौला प्रमुख अतिथि रहेको उक्त अधिवेशनको उद्घाटन तथा मनोनयन दर्ता सुरु हुनुअगावै झडप भएको थियो। आक्रमणबाट महासमिति सदस्य तथा पूर्वसांसद चन्दनारायण चौधरी, नेता चेतराज रेग्मी र उम्मेदवार सौरभ पोखरेल सख्त घाइते भएका छन् भने दर्जनौँ कार्यकर्ता घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि डा। संग्रौलाले क्षेत्रीय सभापति देबु तामाङको योजनामा नियोजित रूपमा फलामको भाटा प्रयोग गरी आक्रमण गरिएको आरोप लगाएकी छन्। उता क्षेत्रीय सभापति तामाङले भने नयाँ क्रियाशील सदस्यता वितरणको असन्तुष्टि र प्रदेश तहको उम्मेदवारीलाई लिएर संग्रौला पक्षकै आन्तरिक गुटगत विवादका कारण असन्तुष्ट कार्यकर्ताहरूले तोडफोड गरेको दाबी गरेका छन्।