पूर्वाञ्चल खबर
अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत आज देखि शुरु भएको स्वास्थ्य शिविर आगामी असोज २० गते सम्म सञ्चालन हुने विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगरका ९ वटा वडामा ८ दिन सम्म सञ्चालन हुने शिविरमा ९९९ जना अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने लक्ष्य रहेको विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।
प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र करुणा फाउण्डेशन प्रदेश १ को आयोजनामा स्वास्थ्य परीक्षण शिविर शुरु भएको हो । अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुलाई परिचयपत्र वितरण गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको अवस्था पहिचान गरि फिजियोथेरापी, जिविकोपार्जनका लागि सीपमुलक कार्यक्रम गर्ने र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षाको लागि पहुँच उपलब्धता गराउने उद्देश्यले शिविर शुरु गरिएको गौतमले बताए ।
विराटनगरको वडा नम्वर २ वाट शिविर शुरु गरिएको छ । आज करिव ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको करुणा फाउण्डेसन नेपाल प्रदेश १ का कार्यक्रम अधिकृत राजिवकुमार चौधरीले बताए । उनका अनुसार असोज १३ गते विराटनगर ७ र ९ का लागि आदर्श मावि, असोज १४ गते विराटनगर ८ को महेन्द्र मावि, असोज १५ गते विराटनगर ३ को परोपकार समाज सेवा केन्द्र, असोज १७ गते विराटनगर ६ को जनचेतना आधारभुत विद्यालय, असोज १८ गते विराटनगर ११ को जनपथ मावि, असोज १९ गते विराटनगर १२ को बखरी आधारभुत विद्यालय, असोज २० गते विराटनगर १३ को बाल माविमा शिविर सञ्चालन हुने छ ।
स्वास्थ्य शिविरमा गरिएको स्वास्थ्य परीक्षणका आधारमा व्हील चेयर, सेतो छडी, बैशाखी, सुनाई यन्त्र, चस्मा, कृतिम हातखुट्टा, औला, फिजियोथेरापी सेवा र थप उपचारका लागि अस्पताल रेफर गरिने सामाजिक विकास महाशाखा प्रमुख गौतमले बताए ।