पूर्वाञ्चल खबर
नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशमा जीवन बीमाबाट २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
देशभर संकलन हुने जीवन बीमा शुल्कमा कोशी प्रदेशको योगदान १२ दशमलव ३० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । प्रदेशमा बीमा सेवाको विस्तारसँगै बीमा कम्पनीका ३०३ वटा कार्यालय सञ्चालनमा रहेका छन् भने ७७१ कर्मचारी परिचालित छन् ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक सचिन राईका अनुसार कोशीमा १९ हजार ९० वटा पशुपंछी बीमा गरिएको छ । यस्तै, निर्जीवन बीमातर्फ ४ लाख ४९ हजार ४२७ वटा बीमा गरिएको छ ।
बीमाको पहुँच अझै ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि सञ्चारमाध्यम तथा पत्रकारको भूमिका महत्वपूर्ण हुने राईले बताए । उनले बीमासम्बन्धी जानकारी र यसको महत्व ग्रामीण तहसम्म र्पुयाउन पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताए।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आज कोशी प्रदेशका पत्रकारहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक पुष्पा खनालले नेपालमा हाल ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, दुई वटा ए कम्पनी र सात वटा लघुबीमा कम्पनी रहेका छन् । प्राधिकरणले बीमा क्षेत्रको नियमनकारी कार्य, सुपरीवेक्षण, अर्धन्यायिक कार्य तथा प्रवद्र्धनात्मक कार्य गर्दै आएको खनालले बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कोशी प्रदेशका १ हजार २१७ जना पत्रकारको दुर्घटना बीमा गरिएको जानकारी दिए। दुर्घटना बीमामार्फत प्रतिव्यक्ति १० लाख रुपैयाँसम्मको जोखिम रक्षावरण हुने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ तथा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक सचिन राईलगायतले बीमाको पहुँच विस्तार र यसको प्रभावकारिताबारे बताए।