पूर्वाञ्चल खबर
भखौ २६ गतेदेखि शुरु भएको वार्षिक साधारणसभा तथा अम्पायर पुनरताजगी तालिम आइतबार सम्पन्न भएको हो । वार्षिक साधारणसभाको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्का प्रमुख अतिथिमा भएको थियो ।
अम्पायर पुनरताजगी तालिमको सहजीकरण आइसिसि मास्टर एजुकेटर बुद्धिबहादुर प्रधान, कुसानका केन्दीय अध्यक्ष समिर खान, रामकैलास यादव र विनय झाले गरेका थिए ।
कार्यक्रममा क्यानका केन्द्रीय सदस्य आयुष श्रेष्ठले ७ प्रदेशबाट ८१ जना क्रिकेट क्षेत्रसँग सम्बन्धित अम्पायर, स्कोरर तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले नेपाली क्रिकेटको विकास र विस्तारसँगै खेललाई निष्पक्ष, व्यवस्थित तथा मर्यादित ढंगले सञ्चालन गर्न अम्पायर तथा स्कोररहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले क्रिकेट खेलमा खेलाडीको प्रदर्शनसँगै सही निर्णय, नियमको पालना, तथ्यांक व्यवस्थापन र खेलको आधिकारिक अभिलेखीकरणका लागि अम्पायर तथा स्कोररहरूको योगदान अतुलनीय रहेको उल्लेख गरे।
नेपाली क्रिकेटलाई थप व्यवस्थित र व्यावसायिक बनाउँदै लैजान अम्पायर तथा स्कोररहरूको क्षमता अभिवृद्धि, प्रशिक्षण र दक्षता विकासमा समेत निरन्तर ध्यान दिनुपर्ने आवश्यकता रहेको कार्यक्रममा सहभागिहरुले जोड दिइएको थियो।
कुसानले नेपाली क्रिकेटको तल्लो तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म अम्पायर र स्कोरर उत्पादन तथा परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। खेलको निष्पक्षता, अनुशासन र मर्यादा कायम राख्न मैदानभित्र तथा मैदानबाहिर अम्पायर र स्कोररहरूले पुर्याउँदै आएको योगदानको कार्यक्रममा उच्च प्रशंसा गरिएको थियो।
कार्यक्रममा कुसानको आगामी कार्ययोजना, संस्थागत सुदृढीकरण, अम्पायर तथा स्कोररको क्षमता विकास र नेपाली क्रिकेटको समग्र विकासमा संस्थाले खेल्न सक्ने भूमिकालगायतका विषयमा समेत छलफल भएको छ।
कार्यक्रममा सहभागीहरूले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन खेलाडी, प्रशिक्षक, अम्पायर, स्कोरर, प्राविधिक तथा सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए। आगामी दिनमा कुसानले अम्पायर तथा स्कोररहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै नेपाली क्रिकेटको समग्र विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।