पूर्वाञ्चल खबर
आज कलेज परिसरमा आयोजित प्रतियोगितामा कवितातर्फ स्वस्तिका नेपाल प्रथम भएकी छिन् । दुई दर्जनभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै स्वस्तिकाले प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । त्यस्तै कविता प्रतियोगितामा सादवीकुमार ठाकुर द्विती, निशा प्रसाईं तृतीय हुँदा अफ्रिन खातुनले सान्त्वना पुरस्कार प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक नरेश पौडेल सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।
त्यस्तै वक्तृत्वकला प्रतियोगितामा समा खातुन प्रथम भएकी छिन् । ‘युवाहरुको विदेश मोह र यसले नेपालको समृद्धिमा पारेको प्रभाव’ विषयक वक्तृत्वकला प्रतियोगितामा आफ्ना उत्कृष्ट विचार प्रस्तुत गरेर खातुन प्रथम भएकी हुन् । त्यस्तै दुई दर्जनभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै नेशन अपूर्ण खनाल द्वितीय हुँदा आस्मा खातुन तृतीय र शिवचरण चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
विजयी विद्यार्थीहरुलाई निर्णायकद्वय मीनकुमार नवोदित, नरेश पौडेल, कलेजका प्राचार्य वसन्त बस्नेत, कलेजका निर्देशक देवेश प्रधानलगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
अध्ययनसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य बस्नेतले जानकारी दिए । उनका अनुसार कलेजले कविता, वक्तृत्वकला, चित्रकला, वादविवाद, खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।