पूर्वाञ्चल खबर
आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा शोक बिदा र भदौ २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै पाँच दिन लगातार बिदा परेको हो ।
भदौ १९ गते शुक्रबार गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित साप्ताहिक बिदा परेको छ ।
सरकारले रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनःस्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको बताए ।
यस्तै, उद्धारका क्रममा घाइते भएका सुरक्षा कर्मचारीको निःशुल्क उपचार गर्ने तथा मृत्यु भएमा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।
मन्त्रिपरिषद्ले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ ।