RUMPUM
animated ellipse animated ellipse

जन्मदिनको खुशी बाढीपीडितको सहयोगमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०८३, बुधबार १७:२९
171
Shares
विराटनगर / जन्मदिनको अवसरमा नानीबाबुहरूले सङ्कलन गरेको रकम भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि प्रदान गरेका छन्।

किड्स भिलेज स्कुल, विराटनगरका नानीबाबुहरूले आफ्नो जन्मदिनमा प्राप्त तथा सङ्कलन गरेको रकम व्यक्तिगत खुशीमा मात्र खर्च नगरी विपद्मा परेका नागरिकको सहयोगमा समर्पित गर्ने निर्णय गरेका हुन्।

भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण धेरै परिवारले जनधनको क्षति व्यहोर्नुपरेको र कठिन परिस्थितिको सामना गरिरहेका बेला बालबालिकाहरूले देखाएको यो मानवीय भावना र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको छ।

सानै उमेरदेखि बालबालिकामा सहयोग, सेवा, करुणा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले यो पहल गरिएको विद्यालयकी एकेडेमिक डाइरेक्टर निरु पौडेलले बताएकी छिन्। जन्मदिनमा प्राप्त खुसीलाई विपद्मा परेका परिवारसँग बाँड्ने बालबालिकाको यो प्रयासले अरूलाई पनि सामाजिक सेवातर्फ प्रेरित गर्ने विश्वास विद्यालयले लिएको छ।

बालबालिकाहरूबाट सङ्कलित रकम  ३४८६५ रुपैयाँ भोटेकोशी बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरि सकिएको विद्यालयका managing director पंकज जैनले बताएका छन्।

“हाम्रो खुसी, विपद्मा परेकाका लागि सहयोग बनोस्” भन्ने भावनाका साथ गरिएको यस पहलले बालबालिकामा रहेको मानवीय संवेदनशीलता र सामाजिक जिम्मेवारीको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर