पूर्वाञ्चल खबर
कलेजले आज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो । कलेजले सहयोग रकम बराबरको चेक उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङलाई प्रदान गरेको छ ।
विराटनगरस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङका अध्यक्ष अमित ढकाल र कोशी प्रदेश सचिव दिपेश बास्तोलालाई कलेजका प्राचार्य राजेश कार्की तथा सञ्चालकहरुले चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा कलेजका सञ्चालक भरतराज दाहाल, निलमकुमार अधिकारी, विकास खनाल, विलास लुइँटेल, डा. भविन्द्र निरौला, लक्ष्मीप्रसाद अधिकारी र शैलेसकुमार झासहितको उपस्थिति थियो ।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहतमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कलेजका तर्फबाट सहयोग गरिएको प्राचार्य कार्कीले बताए । विपत्तिको समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराइएको उनको भनाइ छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित बनाएपछि राहत तथा उद्धारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम तीव्र बनेको छ । कोशी प्रदेशको राजधानी विराटनगरसहित प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहबाट बाढी प्रभावितका लागि आर्थिक, खाद्यान्न तथा अन्य आवश्यक सामग्री सहयोग गर्ने क्रम जारी रहेको छ ।
बाढी तथा प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध गराउन सरकारी निकायसँगै निजी क्षेत्र, शैक्षिक संस्था, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थाले सहयोग परिचालन गरिरहेका छन् । यसै क्रममा अरनिको कलेजले उपलब्ध गराएको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावितको राहत तथा उद्धारमा उपयोग हुने जनाइएको छ ।