पूर्वाञ्चल खबर
अनुगमनका क्रममा पुराना तथा कुच्चिएका ५६ थान पानीका जार नष्ट गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र नेपाल प्रहरीसहितको संयुक्त अनुगमन टोलीले आज विराटनगर बजार क्षेत्रमा प्रशोधित पिउने पानीका जारको अवस्थाबारे अनुगमन गरेको हो ।
अनुगमनका क्रममा प्रयोगका लागि उपयुक्त नरहेका पुराना तथा कुच्चिएका जार फेला परेपछि ५६ थान जार नष्ट गरिएको टोलीले जनाएको छ । पिउने पानीको स्वच्छता र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै जारको सरसफाइ तथा अवस्थालाई प्राथमिकतामा राख्न व्यवसायी तथा पानी ढुवानीकर्तालाई निर्देशन दिइएको छ ।
अनुगमन टोलीले खरिदकर्तालाई सफा र उपयुक्त अवस्थाका जारमा मात्र पानी खरिद गर्न आग्रह गरेको छ । त्यस्तै, पानी ढुवानीकर्तालाई पनि सफा, सुरक्षित र नकुच्चिएका जारमा मात्र पानी ओसारपसार गर्न तथा जारलाई सुरक्षित तरिकाले ढुवानी गर्न निर्देशन दिइएको छ ।
पिउने पानीको गुणस्तर कायम राख्न उत्पादनदेखि ढुवानी र बिक्रीसम्मका प्रक्रियामा स्वच्छता तथा सुरक्षित भण्डारणमा ध्यान दिनुपर्नेमा अनुगमन टोलीले जोड दिएको छ ।