पूर्वाञ्चल खबर
कोशी प्रदेशमै पहिलो पटक विराट स्पोट्र्स जोनको आयोजनामा भएको यस क्रिकसल प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्डले राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि चुमेको थियो ।
विजयी खेलाडीहरूको हौसला बढाउन ग्रिनल्याण्ड स्कुलले सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरूलाई नगदसहित सम्मान गरेको हो । स्कुलका प्रिन्सिपल दिनेश दाहाल लगायत शिक्षकहरूले खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार, माला र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरे ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको ग्रिनल्याण्डले व्यक्तिगत विधामा पनि वर्चस्व जमाएको थियो । ग्रिनल्याण्डका अमिर मण्डल ‘उत्कृष्ट बलर’ घोषित भए भने कृष्णराज यादवले ‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि जित्न सफल भए ।
विराटनगरका ४ सामुदायिक र २८ निजी गरी कुल ३२ विद्यालयको सहभागिता रहेको यो प्रतियोगिता प्रदेशकै खेलकुद क्षेत्रमा नयाँ प्रयोगका रूपमा हेरिएको छ । सम्मान कार्यक्रममा बोल्दै प्रिन्सिपल दाहालले शैक्षिक विकासका साथै खेलकुदमा पनि विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनले विद्यालय गौरवान्वित भएको बताए ।