AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालसहित देशभरको ओपिडी सेवा ठप्प, उपचार नपाउँदा बिरामीलाई सास्ती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ श्रावण २०८३, मंगलवार १६:४९
3
Shares
विराटनगर / चिकित्सकहरूको आन्दोलनका कारण आज विराटनगरस्थित कोशी अस्पतालसहित देशभरका अस्पतालहरूको ओपिडी सेवा ठप्प भएको छ।

नेपाल चिकित्सक संघको आह्वानमा सेवा बन्द गरिएपछि उपचारका लागि आएका सर्वसाधारण बिरामीहरू उपचारबाट वञ्चित भई अलपत्र परेका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आज देशभर आन्दोलित भएका हुन्। उनीहरूले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेसँगै बिहानैदेखि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्तहरू ओपिडी टिकट नपाएर सास्ती खेप्न बाध्य भएका छन्।

विराटनगरको कोशी अस्पताल जस्ता ठूला सरकारी अस्पतालहरूमा ओपिडी सेवा पूर्ण रूपमा बन्द रहँदा बिरामीको बिचल्ली भएको छ। अस्पतालको ओपिडी टिकट काउन्टरमा ‘सेवा बन्द’ को सूचना टाँसिएको छ। स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा अवरुद्ध हुँदा टाढा–टाढाबाट आएका बिरामीहरू सबैभन्दा बढी मर्कामा परेका छन्।
यसअघि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पतालहरूलाई अपिल गरे तापनि अस्पतालहरूमा त्यसको पालना भएको देखिएन।

कोशी अस्पतालमा उत्पन्न समस्या र ओपिडी सेवा बन्दबारे बुझ्न खोज्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले कुनै प्रतिक्रिया दिन मानेनन्। सञ्चारकर्मीहरू उनको कार्यकक्षमा पुग्दा यस विषयमा बोल्न अस्वीकार गर्दै उनले सूचना अधिकारीलाई बुझ्नुु भन्दै जिम्मेवारीबाट पन्छिएका छन्।

यता नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक डा. रोशन खड्काले चिकित्सकमाथि हुने निरन्तरका आक्रमणका विरुद्ध आन्दोलनमा उत्रिनु परेको बताए।
“चिकित्सकमाथि कुटपिट भएको यतिका दिन भइसक्दा पनि प्रहरी प्रशासनले दोषीलाई अहिलेसम्म पक्राउ गरेको छैन,” उनले भने, “हाम्रो सुरक्षाको ग्यारेन्टी नभएपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर