पूर्वाञ्चल खबर
प्रज्ञापन पत्र मा उल्लेख भएभन्दा बढी मालसामान लोड गरिएको आशंकामा सशस्त्र प्रहरीले ट्रक नियन्त्रणमा लिएर पुनः जाँच (रिचेक) का लागि भन्सारमै बुझाएको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानी, विराटनगरले बीआर ०१ जीए ३३४७ नम्बरको भारतीय मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गजेन्द्र बहादुर भण्डारीका अनुसार भन्सारको प्रक्रिया सकेर निस्किएको ट्रकमा प्रज्ञापन पत्रमा देखाइएभन्दा बढी सामान रहेको विशेष सूचनाका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।
‘हामीलाई भन्सारबाट नापजाँच भएर निस्किएको ट्रकमा घोषणा गरिएभन्दा बढी सामान भएको जानकारी आयो,’ एसपी भण्डारीले भने, ‘त्यसपछि ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान र पुनः जाँचका लागि भन्सार कार्यालयमै बुझाएका छौँ । बाँकी अनुसन्धान उताबाटै भइरहेको छ ।’
सशस्त्र प्रहरीले ट्रक बुझाएपछि भन्सार कार्यालयले त्यसभित्रका सामानको पुनः नापजाँच सुरु गरेको छ । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमल कुमार साहले अहिले ‘रिचेक’ को काम भइरहेको र नतिजा आउन बाँकी रहेको जानकारी दिए ।
‘अहिले ट्रकभित्रका सामानहरूको पुनः भौतिक परीक्षण भइरहेको छ, अनुसन्धान अझै सकिएको छैन,’ साहले भने, ‘प्रतिवेदन नआएसम्म के कति बढी सामान छ वा छैन भन्ने विषयमा अहिल्यै केही भन्न सकिँदैन ।’
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त सामान विराटनगरका भन्सार एजेन्ट प्रतिनिधि अक्बर अलीले छुटाएका हुन् । अलीमाथि यसअघि पनि भन्सार कर्मचारीसँगको मिलेमतोमा राजस्व छली गरी सामान आयात गर्ने गरेको आरोप लाग्दै आएको छ ।
यता, एजेन्ट प्रतिनिधि अलीले भने आफूमाथि नियतवश आरोप लगाइएको दाबी गरेका छन् । ‘मलाई बदनाम गराउने उद्देश्यले केही व्यक्तिहरू लागेका छन्, यसमा मेरो कुनै कैफियत छैन,’ उनले भने, ‘सबै कानुनी प्रक्रिया पूरा गरेरै सामान ल्याइएको हो । ८ लाख रुपैयाँ बराबरको सामान आयात गर्दा लाग्ने ३ लाख राजस्व भन्सारमा बुझाइसकिएको छ ।’
भन्सारबाटै क्लियरेन्स पाइसकेको सामान सशस्त्रले नियन्त्रणमा लिएपछि भन्सारको प्रारम्भिक जाँचपास प्रक्रियामाथि समेत प्रश्न उठेको छ । अनुसन्धानको प्रतिवेदन आएपछि मात्रै राजस्व छलीको वास्तविक अवस्था स्पष्ट हुने देखिएको छ ।