खबर पूर्वाञ्चल
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित जिल््लाभर जारी गरेको निषेधाज्ञा खुकुलो प्राबधानसहित भदौ २२ गतेसम्म थप गरेको हो ।
यसअघि दुई पटक थप हुँदै भदौ ५ गतेबाट जारी गरेको निषेधाज्ञा २२ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
निषेधाज्ञा खुकुलो पारेको स्थानीय प्रशासनले सार्वजनिक सवारी सञ्चलनमा प्रतिबन्ध यथावत राखेको छ । निजी सवारी सञ्चालनमा भने जोर बिजोर प्रणाली लागू गरेको छ । निषेधाज्ञाको अबधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।
सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाए पनि सिटीरिक्सा सञ्चालन गर्न खुल्ला गरिएको छ । सिटी सफारी सञ्चालन गर्दा दुई जना भन्दा बढी यात्रु राख्न पाइने छैन् ।
बजार तथा पसल अब ४ बजेसम्म खुल्ला हुने भएको छ । यसअघि दिनको १२ बजेसम्म मात्र बजार तथा पसल खुल्ला गरिएको थियो । प्रशासनले शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालामा रोक लगाएको छ ।
निषेधाज्ञाको अबधिमा सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जीमखानालगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्रा जस्ता सामूहिक गतिबिधि, गर्न पनि रोक लगाईएको छ ।
सरकारी कार्यालयले आलोपालो गरी न्युनतम संख्यामा कर्मचारी राखेर भदौ २१ गतेबाट तालिका अनुसार सेवा सञ्चालन गर्नुपर्ने भएको छ । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने भएका छन् । जिल्लाभर राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।
कोरोना महामारी अझै नियन्त्रणमा नआएको र निषेधाज्ञाले दैनिक जनजीवन पनि कष्ठकर भइरहेकोले जीवनयापन सहज बनाउनेगरी निषेधाज्ञाको मापदण्ड परिमार्जन गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।