पूर्वाञ्चल खबर
विराटनगर/ नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसका अवसरमा मोरङ शाखाले विराटनगर–५ स्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन ग्रहण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
संघको साताव्यापी कार्यक्रमको पाँचौ दिन सोमबार आश्रमका ७२ जना ज्येष्ठ नागरिकलाई सहयोग गरिएको हो ।
संघले आश्रममा रहेका वृद्धवृद्धालाई भोजन गराउनुका साथै आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको मोरङ अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । ‘भोजन कृष्णार्पण’ नाम दिइएको उक्त कार्यक्रमको संयोजन संघका पूर्वअध्यक्ष लक्ष्मी तिम्सिनाले गरेका थिए ।
स्थापना दिवसको उपलक्ष्यमा संघले साताभर विभिन्न सामाजिक कार्यहरू सञ्चालन गरिरहेको छ । यसअघि संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई स्वास्थ्य तथा सचेतनामूलक सामग्री वितरण गरिसकेको छ । त्यस्तै, सामुदायिक विद्यालयहरूमा लागूऔषध विरुद्धको सचेतना कार्यक्रम र कोशी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको संघले जनाएको छ ।
असार १० गते संघको आफ्नै भवनमा विशेष समारोह आयोजना गरी साताव्यापी अभियानको समापन गरिने अध्यक्ष ढकालले बताए । व्यावसायिक हकहितका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिइएको संघको भनाइ छ ।