विराटनगरको एभरेष्ट कलेजले गर्यो कक्षा–११ का विद्यार्थीलाई अभिमुखीकरण
पूर्वाञ्चल खबर
२७ जेष्ठ २०८३, बुधबार १७:०५
3
Shares
विराटनगर / विराटनगर – ५ स्थित एभरेष्ट स्कुलले कक्षा ११ का विद्यार्थीका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलको सभाहलमा आयोजित कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई उत्प्रेरक डा. ताराप्रसाद गिरीले विभिन्न प्रसङ्ग र उदाहरण प्रस्तुत गर्दै भविष्य उज्वल बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा अवगत गराए । उनले कक्षा ११ र १२ भनेको उच्च शिक्षाका लागि एउटा महत्वपूर्ण खुट्किलो रहेको भन्दै यी दुई वर्षमा गर्ने मेहनतले भविष्यको आकार कस्तो बन्ने भन्ने तय हुने बताए । उनले लक्ष्यसहितको संकल्प लिएर अघि बढ्दा हरेक व्यक्ति सफल हुने भन्दै त्यसका लागि आइपर्ने विभिन्न अड्चनहरूलाई सामना गर्दै अघि बढ्न प्रेरित गरे।
विश्वका सफल व्यक्तिहरुको उदाहरण प्रस्तुत गर्दै उनले लक्ष्यसहित दृढ संकल्प लिनेहरु सफल बन्ने गरेको बताए । विद्यार्थी केवल एक व्यक्ति मात्र नभई परिवारको सपना र देशको भविष्य समेत रहेको चर्चा गर्दै उनले आफूलाई कस्तो बनाउने भन्ने विषयमा विद्यार्थी आफै सचेत हुनुपर्ने उनले बताए।एभरेष्ट स्कुलले दिने वातावरणको सहि सदुपयोग गर्न सक्दा मात्रै पनि विद्यार्थीको भविष्य उज्वल हुने तर्क गर्दै डा. गिरीले हरेक अभिभावक र शिक्षकले विद्यार्थीको भलो मात्रै चाहने भएकाले विद्यार्थीले पनि त्यस्तै बन्नुपर्ने डा.गिरीले बताए।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति वातावरण बनाइदिएको भन्दै उनले कुनै कुराको अभाव भए तत्काल भन्न समेत आग्रह गरे। उनले भने, ‘तपाईंहरुको शैक्षिक विकासका निम्ति केहि थप गर्नुपर्ने भए मलाई भन्नुहोस्, हामी त्यो गर्छौ । यस्तै उनले एभरेष्टका विद्यार्थीहरु यहाँको नियममा बसेर पढ्नुपर्ने समेत बताए।
विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले कक्षा–११ र १२ ले विश्वविद्यालयको शिक्षा कस्तो बनाउने भन्ने तय गर्ने भएकाले सोहि अनुसार विद्यार्थीले मेहनत गर्नुपर्ने बताए ।
कार्यक्रममा एभरेष्ट कलेजका को अर्डिनेटर भुवन गौतमले कलेजमा पालना गर्नुपर्ने अनुशासन, कलेजमा गर्न नपाइने विषय र कलेजमा उपलब्ध सुविधालगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराए। विज्ञान, कम्प्यूटर विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को अध्यापन हुने एभरेष्टले यहि शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन शुरु गर्दैछ ।