अनुज सापकोटा
विराटनगर / विराटनगरमा जेठ १ गते शुक्रबारदेखि डि आर आवसगृहमा बसी उपचाररत विरामीलाई सिलाइ कटाइ तालिमको शुभारम्भ गरिएको छ ।
विराटनगर –७ स्थित नेपाल क्षयरोग निवारण संस्था, मोरङ शाखा (नाटा) को आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा तालिम आगामी असारको १५ गतेसम्म संचालन हुने छ । तालिममा ३ महिला र ४ पुरूषको सहभागिता छ । तालिमबाट डि आर (औषधी प्रतिरोधी ) क्षयरोगी उपचार पश्चात आर्य आर्जन गर्न सक्ने दक्ष स्वावलम्बी बन्ने र समाजमा पुर्नस्थापित हुने विश्वास गरिएको छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै संस्था मोरङका अध्यक्ष घनश्याम राठीले विरामीको उपचारको साथसाथै जीवनयापनसमेत सुदृढ होस्भन्ने चाहना राखिएको बताए । उनले वि।सं। २०१६ मा स्थापित संस्था कोशी प्रदेशमा रेफरल सेन्टरको रूपमा स्थापित भएको बताए । सभापति राठीले विरामीलाई निःशुल्क सेवा प्रवाह गर्ने नाटा मोरङको आफ्नै नाममा जग्गा नहुनु दुर्भाग्य रहेको बताए ।
विएनएमटीका विराटनगर प्रमुख रामप्रसाद कोइरालाले लामो समयदेखि नाटा मोरङसँग सहकार्य गर्दै आएको बताए । उनले लुकीछिपी बसेका क्षयरोगका विरामीको पत्ता लगाएर उपचारको दायरामा ल्याउने काम गरेको बताए । कोइरालाले विएनएमटीले डि आर आवसगृहमा बस्न आउने विरामीलाई सिरक डस्नादेखि नङ काट्ने नेलकट् लगायतका सामग्रीको केयर प्याकेज निःशुल्क उपलब्ध गराउने गरेको बताए ।
विराटनगर महानगरपालिकाका तथ्याङ्क अधिकृत दीपक भट्टराईले राज्यले निर्वाह गर्नु पर्ने काम नाटा मोरङले निस्वार्थ गरिरहेको बताए । उनले तालिमका लागि महानगरबाट ५ लाख रूपैयाँको सहयोग गरिएको बताए । स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले क्षयरोग खानेकुरा र गरिबीसँग सम्बन्धित रहेको बताए । उनले विरामीले आय आर्जन गर्न सक्षम भएपछिमात्र नियमित औषधी सेवन र पोषणयुक्त खानेकुरा खाने बताए ।
एनटीसीका प्रमुख डा। नवीनप्रकास साहले क्षयरोगको उपचार गरेरमात्र नपुग्नेभन्दै विरामीले आफूपनि बच्नु पर्ने र समाजलाईपनि बचाउनु पर्ने दायित्व निर्वाह गर्नु पर्ने बताए । विरामीले उपचारकोबिचैमा औषधी सेवन छाड्ने हुनाले क्षयरोगको अन्त्य टाउको दुखाईको विषय बन्दै गएको परिपेक्षमा सीपमुलक तालिमले क्षयरोग निराकरणमा विरामीको संलग्नता बढाउने बताए ।
नाटाका कार्यवाहक केन्द्रीय अध्यक्ष राजन श्रेष्ठले नाटाको ३६ जिल्ला शाखामध्ये सबैभन्दा उत्कृष्ट नाटा मोरङ शाखा रहेको बताए । उनले मोरङ शाखाले कोशी प्रदेशका १४ जिल्ला, छिमेकी मधेश प्रदेशको सिराहा, सप्तरी र धनुषालगायतका भारतका उल्लेख्य संख्याका क्षयरोगका विरामीलाई निःशुल्क उपचार सेवा सम्पूर्ण प्रवाह गरिरहेको बताए । उनले क्षयरोगका डि आर विरामीलाई ३२ महिनासम्म एउटै थलोमा बसेर दवाई खाँदा खाँदा मन साघुँरिनेजस्ता समस्या उत्पन्न हुने र यस्ता सीपमुलक कार्यक्रमबाट ती विरामीमा उर्जा उत्पन्न हुने बताए ।
उपचाररत अवस्थामा तालिममा संलग्न हुँदा विरामीको रोगपनि निको हुने र पुर्नस्थापनामा मद्दत पुग्ने का।वा केन्द्रीय अध्यक्ष श्रेष्ठले बताए । धन्यवाद ज्ञापन गर्दै नाटा मोरङका उपाध्यक्ष भैरव क्षेत्रीले तालिम लिएका प्रशिक्षार्थीलाई एक थान नयाँ सिलाइ मेशिन, कैंची, धागो र २० मिटर कपडा प्रदान गरिने बताए । कार्यक्रमको संचालन नाटा मोरङका सचिव भविष श्रेष्ठले गरेका थिए ।
१५ जनाको क्षमता भएको डिआर आवागृहमा बसी हाल १८ जना विरामी उपचाररत छन् । नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको छ ।