AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कटहरीमा धिमेको गुञ्जन, पहिचान जोगाउने महाअभियानमा जुटे तन्नेरीहरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०८३, बिहीबार १८:०५
3
Shares
विराटनगर / पश्चिमा पप र आधुनिक डिजेको शोरमा हराउँदै गएको मोरङको कटहरी अचेल झ्याम्टा र धिमेको मौलिक धुनले गुञ्जायमान हुन थालेको छ ।

कुनै समय विशेष चाडबाडमा मात्र सुनिने नेवारी बाजाको तालमा अहिले स्कुले बालबालिकादेखि क्याम्पस पढ्ने तन्नेरीहरू मुकुण्डो लगाएर सडकमा निस्कन थालेका छन् । हातमा झ्याम्टा र काँधमा धिमे भिरेर नाचिरहेका यी युवाहरू कुनै जात्रा मनाइरहेका छैनन्, बरु हराउन लागेको आफ्नो पहिचान जोगाउने महाअभियानमा जुटेका छन् ।

यो रौनक फर्काउने सारथी हुन् — १४ वर्षीया आशिका श्रेष्ठदेखि २५ वर्षका आशिष श्रेष्ठसम्मका तन्नेरीहरू । आफ्नै मौलिक पहिचान हराउँदै गएको चिन्ताले यी युवाहरूलाई अचेल कापी र कलमभन्दा बढी धिमेको ताल र लाखेको चालमा सक्रिय बनाएको छ ।

स्कुलको समयबाहेक आशिका अचेल काँधमा धिमे बाजा भिरेर नेवारी लयमा रम्न थालेकी छिन् । “पहिले नेवार भएर पनि आफ्नो समुदायको बाजा बजाउन नआउँदा मन खिन्न हुन्थ्यो,” उनी भन्छिन्, “अहिले प्रशिक्षण लिएपछि आफैँले बजाउन पाउँदा छुट्टै आनन्द आउँछ । टेलिभिजनमा मात्र देखेको लाखे नाच र धिमे बाजा अहिले हाम्रो आफ्नै दैनिकी बनेको छ ।”

तन्नेरीको काँधमा पुर्खाको विरासत
आशिका मात्र होइन, कटहरीको यो टोलीमा १९ वर्षीया रितु श्रेष्ठ, २५ वर्षका आशिष श्रेष्ठ र २० वर्षका एन्जल तुलाधारको सक्रियता लोभलाग्दो छ । उनीहरूले ‘नेवा देय दबू’ कटहरी गठन गरेर नेवारी भाषा र संस्कृतिको संरक्षणमा आफूलाई होमेका छन् ।

विशेष गरी नेवार समुदायमा शोकबाहेकका सबै शुभकार्यमा धिमे बजाइन्छ । तर, उपत्यकाबाहिर यो कला बिस्तारै लोप हुने अवस्थामा पुगेको थियो । “हामीले चासो नदेखाएको भए हाम्रो पहिचान नै मेटिने खतरा थियो,” समितिका अध्यक्ष लक्ष्मीराज भण्डारी भन्छन्, “त्यसैले अहिले २० भन्दा बढी युवाहरूलाई प्रशिक्षण दिएर तयार पारेका छौँ । अब कतै पनि सांस्कृतिक कार्यक्रम हुनेबित्तिकै हाम्रो धिमे र लाखेको टोली पुगिहाल्छ ।”

यो अभियानको अर्को सुन्दर पाटो भनेको लैङ्गिक विभेदको अन्त्य पनि हो । कुनै समय पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहेको धिमे अचेल आशिका र रितु जस्ता युवतीहरूले गर्वका साथ काँधमा भिर्ने गरेका छन् । आशिष श्रेष्ठ भन्छन्, “आफ्नो समुदायको पौराणिक बाजा बजाउन सिक्दा निकै गर्व लाग्छ ।”

पालिकाको अभिभावकत्व
स्थानीय युवाहरूको यो हुटहुटीलाई कटहरी गाउँपालिकाले पनि साथ दिएको छ । गाउँपालिकाले हालै नेवा देय दबूलाई झ्याम्टा, लाखेको पोसाक, मादल र अन्य सांस्कृतिक सामग्रीहरू प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष देवराज चौधरी पालिकाभित्रका हरेक समुदायको पहिचान जोगाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँछन् । “संस्कृति जोगिए मात्र हाम्रो मौलिक पहिचान कायम रहन्छ,” उनले भने, “हामीले नेवार समुदायका लागि आवश्यक सामग्री सहयोग गरेका छौँ, यसले उनीहरूको हौसला अझ बढाएको छ ।”

कटहरी गाउँपालिका–१ का वडाअध्यक्ष हरिनारायण राजवंशीका अनुसार पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुनु मोरङको ग्रामीण क्षेत्रका लागि एउटा उदाहरणीय सांस्कृतिक कडी हो । ‘‘अचेल कटहरीका तन्नेरीहरू धिमेको तालमा मात्र झुमेका छैनन्, उनीहरूले एउटा सिङ्गो इतिहासलाई पनि आफ्नो काँधमा बोकेर हिँडेका छन्,’’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर