पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ३७ वर्षीय स्वर्णकारलाई मंगलबार मोरङ जिल्ला अदालतका न्यायाधीश केशव प्रसाद घिमिरेको इजलासले ७५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम बुझाएर स्वर्णकार रिहा भएको अदालत प्रशासनले जनाएको छ ।
यातयात कार्यालय विराटनगरको परिसरभित्र लेखापढीको काम गर्ने स्वर्णकारले सेवाग्राहीलाई ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनले को ३१ प ५५७९ नम्बरको मोटरसाइकलको बिलबुक नवीकरण गरिदिने बहानामा सरकारी छाप र छैटौँ तहका अधिकृतको नक्कली दस्तखत गरी किर्ते गरेको आरोप लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्वर्णकारले विभिन्न सवारी साधनका दर्ता किताब ९बिलबुक० लिएर राजस्व नतिरी सरकारी छाप र हस्ताक्षर किर्ते गर्ने गरेको विशेष सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो ।
स्वर्णकार पक्राउ परेपछि उनको घरमा खानतलासी गर्दा प्रहरीले विभिन्न सवारी साधनका ११ थान दर्ता किताबहरू समेत फेला पारेको थियो । उनीविरुद्ध सरकारी कागजात किर्ते र ठगीको मुद्दा चलाइएको थियो ।