AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निगमद्वारा एक सातामै बढायो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य हालसम्मकै उच्च

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० चैत्र २०८२, शुक्रबार ०८:५४
117
Shares
विराटनगर / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

आज बिहानै १२ बजेदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले मूल्यवृद्धि गरेको हो ।

निगमको सञ्चालक समितिले चैत १९ गते बिहीबार लिएको निर्णयअनुसार नयाँ मूल्य आज बिहानका राति १२ बजेदेखि लागू भएको हो । नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि कायम रहेको मूल्यभन्दा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको हो । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि समान रूपमा प्रतिलिटर १५ रुपैयाँले बढाएर १७२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागिरहेको छ । विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित युद्धजन्य परिस्थितिका कारण कच्चा तेलको आपूर्ति र मूल्यमा अस्थिरता देखिएको छ ।

यही प्रभाव नेपालमा आयात हुने पेट्रोलियम पदार्थको लागतमा परेको निगमले स्पष्ट पारेको छ । निगमले हालको मूल्य समायोजन नगरेको अवस्थामा संस्थानलाई ठूलो आर्थिक भार पर्ने जनाएको छ ।

पछिल्ला विवरणअनुसार निगमले प्रत्येक पन्ध्र दिनमा करिब १३ अर्ब २१ करोड रुपैयाँ बराबरको घाटा व्यहोर्नु परेको छ । यस्तो अवस्थामा मूल्यवृद्धि नगरी विकल्प नरहेको निगमको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको दैनिक जीवनमा पर्ने देखिएको छ । यातायात भाडादेखि लिएर खाद्यान्न तथा अत्यावश्यक वस्तुको मूल्यसमेत बढ्ने सम्भावना रहेको छ । यसले समग्र बजारमा महँगी थप चर्काउने अर्थविद्हरूको आकलन छ ।

विशेषगरी सवारीसाधन प्रयोग गर्ने सर्वसाधारण, ढुवानी व्यवसायी तथा उद्योग क्षेत्र यस निर्णयबाट बढी प्रभावित हुने देखिएको छ । डिजेलको मूल्यवृद्धि भएपछि ढुवानी खर्च बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्यमा पर्ने निश्चित छ ।

सरकारले मूल्य नियन्त्रणका लागि वैकल्पिक उपाय नअपनाएको भन्दै सर्वसाधारण स्तरबाट आलोचना पनि हुन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि कर संरचना र आन्तरिक व्यवस्थापनमार्फत उपभोक्तालाई केही राहत दिन सकिने माग उठिरहेको छ ।

निगमले भने अन्तर्राष्ट्रिय बजार स्थिर नहुँदासम्म मूल्यमा उतारचढाव भइरहने जनाएको छ । आगामी दिनमा पनि कच्चा तेलको मूल्य र विनिमयदरका आधारमा पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन हुन सक्ने निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर