विराटनगर / नेपाली काग्रेसका महामन्त्री गगन थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । जनताले पटक पटक तानाशाह शासन व्यवस्थाको अनुभूति गरेकोले लोकतन्त्रको विकल्प नसोचेको महामन्त्री थापाले बताए ।
गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्व राजाले पनि नागरिकको हैसितामा आफ्ना मतहरु राख्ने स्वतन्त्रता रहेको महामन्त्री थापाले बताए । उनले पूर्व राजाको शासनकालमा राष्ट्रद्रोहको मुद्दामा नेकां सहितका अन्य पार्टीका नेतालाई जेलमा हालेको उदाहरण रहेको छ भन्दै पूर्व राजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुखबन्द गर्न नजाने बताए ।
महामन्त्री थापाले प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्था प्रति होइन सरकारको काम कारवाहीप्रति असन्तुष्टी निर्वाचनको माध्यमबाट व्यक्त गर्ने गरेको बताए । उनले पार्टीका नेता तथा कार्यकर्ताहरुले गुट उपगुट नवनाई जनताको सर्वोपरि हितका तर्फ कार्य गर्नुपर्ने सुझाव दिए ।
महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका सम्वन्धमा सत्तामा रहेका दलहरुसँग छलफल गरिरहनु भएको र केही दिनभित्र समझदारी हुने विश्वास ब्यब्त गरे । उनले नेपाली कांग्रेसको महाधिवेशनको प्रकिया शुरु भैसकेको र विधानले तोकेको सीमा भित्र हुने बताए ।