पूर्वाञ्चल खबर

साम्पाङले आफू कसैको पक्ष वा विपक्षमा नभई न्यायको पक्षमा र अन्याय तथा विभेदको विपक्षमा उभिने बताएका छन् ।उनले डिस्कर्डजस्ता माध्यममा योजना बनाइ भदौ २३ र २४ गतेका घटना गराउने तथा देशमा अशान्ति फैलाउने प्रयास गर्ने सबै व्यक्तिहरूमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।
साम्पाङले २३ गते घटेको घटनामा मात्र सीमित नरही २४ गते देशलाई अस्थिर बनाउने योजनामा संलग्न व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । ‘कुनै पनि प्रकारको हिंसा, विभेद वा अराजक गतिविधिलाई छुट दिनु हुँदैन । सबैलाई समान रूपमा कानुनी कठघरामा ल्याइनुपर्छ,’ उनले भने ।
साम्पाङको अभिव्यक्तिले जेनजी आन्दोलनको घटनाक्रममा निष्पक्ष अनुसन्धान र कारबाहीको मागलाई थप बल दिएको छ । विभिन्न कोणबाट उठिरहेका आरोप प्रत्यारोपबीच उनले सबै पक्षलाई समेटेर न्यायिक प्रक्रियामा ल्याउनुपर्ने सन्देश दिएका हुन् । साम्पाङले घटनालाई एकपक्षीय रूपमा हेर्न नहुने चेतावनी बारम्बार दिइरहेका छन् ।