पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार हिजो राती करिब ११:१२ बजेको समयमा विशेष सूचनाका आधारमा उक्त सामान बरामद गरिएको हो।
विराटनगर महानगरपालिका वडा नं. १८ स्थित आइसिपी सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ०१ जी बि७६४३ नम्बरको ट्रकलाई प्रहरी टोलीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उक्त ट्रकमा लोड गरिएका मोटर्स पार्टस र सोफा सेटहरू बिल विजकमा उल्लेख भएभन्दा बढी परिमाणमा रहेको र सामानको न्यून मूल्याङ्कन समेत गरी भन्सार छल्न खोजिएको पाइएको डिएसपी लामिछानेले जानकारी दिए।
प्रहरीले बरामद गरेको ती सामान र ट्रकको अन्दाजी मूल्य ४५ लाख ६३ हजार ६१८ रुपैयाँ (पैँतालिस लाख त्रिसाठी हजार छ सय अठार रुपैयाँ) कायम गरिएको छ।
रीतपूर्वक बरामद गरिएको उक्त सामानसहितको ट्रकलाई आवश्यक कानूनी कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय, इटहरी, सुनसरी पठाइएको मोरङ प्रहरीले जनाएको छ।