पूर्वाञ्चल खबर
काठमाण्डौ १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि मिश्रले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको बताएका हुन्।
मिश्रले पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतमा राजसंस्था पुनर्स्थापनाको जनमतलाई सङ्गठित गर्न नसकेकोमा स्ट्याटसमा लेख्दै जिम्मेवारी लिएका छन्।
‘आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु। राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु,’ उनले लेखेका छन्।
‘आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचि–विचारी लिँदैछु। देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई संगठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु,’ उनले भनेका छन्, विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु।’
आफ्नो ९ वर्षको राजनीतिक यात्राबारे मिश्रले लेखेका छन्, ‘यो कठिन यात्रामा साथ र सहयोग गर्नुहुने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरूप्रति जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुन्छ।’ उनले ‘देशभन्दा माथि स्वार्थ’ राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम नगर्ने पनि बताएका छन् । उनले ०७४ र ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौँ १ बाट पराजित भएका थिए ।