पूर्वाञ्चल खबर
विशेषगरी ओखलढुंगाका एक मतदान केन्द्रमा दिउँसोसम्म पनि मत खस्न नसक्दा स्थानीय असन्तुष्टि सतहमा आएको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सहिद आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा अपराह्नसम्म पनि एकजनाले पनि मताधिकार प्रयोग नगरेका छैनन् । स्थानीयका अनुसार प्रदेशस्तरीय अस्पताल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन नगरेको भन्दै उनीहरूले मतदान बहिष्कार गरेका हुन् ।
उक्त केन्द्रमा ८०१ मतदाता सूचीकृत भए पनि मतदान सुरु भएको घण्टौं बित्दासमेत मतपेटिका खाली नै रहेको निर्वाचन अधिकारीहरूले बताएका छन् । मतदान सम्पन्न गराउन ६ जना कर्मचारी खटाइएका छन्, तर मतदाता नआएपछि उनीहरू केन्द्रमै प्रतीक्षारत छन् ।
देशका अन्य केही दुर्गम क्षेत्रमा पनि यस्तै अवस्था देखिएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङस्थित वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा ११३ मतदाता सूचीकृत भए पनि दिउँसो साढे ३ बजेसम्म कोही पनि मतदानका लागि पुगेनन् । दुर्गमता र मतदान केन्द्रसम्म पुग्नुपर्ने लामो दूरीका कारण मतदाता नआएको अनुमान गरिएको छ ।
यस्तै, दार्चुलाको अपिहिमाल गाउँपालिका–३ का भट्टार, रजिउडा, धामीगाउँ र झस्कु चौडका मतदाताले पनि मतदान गरेका छैनन् । उनीहरूले मतदान केन्द्रसम्म पुग्न तीनदेखि चार घण्टा लाग्ने भएकाले वडा विभाजन गरी सहज पहुँचको व्यवस्था गर्न माग गर्दै यसअघि नै गाउँपालिकालाई पत्र बुझाएका थिए । माग सम्बोधन नभएपछि उनीहरू मतदान प्रक्रियाबाट टाढिएका हुन् ।
दाङको बबई गाउँपालिका–७ तल्लो मलैखोलास्थित देउती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पनि अपराह्न ४ बजेसम्म एक मतसमेत खस्न सकेको छैन । त्यहाँ ५३० मतदाता सूचीकृत छन् ।
देशभर अधिकांश स्थानमा उत्साहजनक रूपमा मतदान भइरहे पनि केही केन्द्रमा देखिएको मतदाता बहिष्कार र अनुपस्थितिले स्थानीय माग, भौगोलिक कठिनाइ तथा सेवा सुविधासम्बन्धी असन्तुष्टिलाई उजागर गरेको छ । निर्वाचन अधिकारीहरू भने मतदातालाई केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिरहेका छन् ।