पूर्वाञ्चल खबर
बैठकले निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन मतदानको ७२ घण्टा अगाडिदेखि सीमानाका पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका जिल्ला मजिस्ट्रेट (डीएम) विनोद दुहनको सह–अध्यक्षतामा बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा रणनीति तय गरेको हो। सहमति अनुसार फागुन १८ गते मध्यरात १२ बजेदेखि फागुन २१ गते मध्यरात १२ बजेसम्म सीमानाका पूर्ण रूपमा बन्द रहनेछ।
बैठकले सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रणमा विशेष कडाइ गर्ने सहमति गरेको छ । जसअनुसार तेस्रो मुलुकका नागरिकको अनधिकृत प्रवेश रोक्ने, लागूऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोटको कारोबार तथा हतियार र नगद तस्करी नियन्त्रणमा दुवै देशका सुरक्षा निकायले साझा रणनीति अपनाउने भएका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार बैठकमा कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल (रियल टाइम) सूचना आदानप्रदान गर्ने संयन्त्र बनाउने सहमति भएको छ ।
‘निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूले पूर्ण सहयोगको प्रतिबद्धता जनाउनुभएको छ,’ कोइरालाले भने ।
सीमा सिल गरिएको अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै आवतजावतलाई पूर्ण रूपमा रोक लगाइने सुरक्षा अधिकारीहरूले जनाएका छन् । दुई देशका अधिकारीहरूबीच सीमा क्षेत्रको सुरक्षा सुदृढ बनाउन र साना–तिना विवादलाई स्थानीयस्तरमै समाधान गर्ने विषयमा पनि छलफल भएको थियो ।