पूर्वाञ्चल खबर
पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावतीले हीरक जयन्तीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘विद्यालयको ७५ वर्षको गौरवमय यात्रालाई विशेष बनाउन हामीले हप्ताव्यापी कार्यक्रम तय गरेका छौँ,’ उनले भने । यो उत्सवलाई सफल बनाउन पूर्व विद्यार्थीहरूले व्यक्तिगत तथा समूहगत रूपमा अतुलनीय आर्थिक र भौतिक सहयोग गरिरहेका छन्। पूर्व विद्यार्थी विष्णु डंगोलका अनुसार पूर्व विद्यार्थीहरूकै सक्रियतामा विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि विभिन्न अभियानहरू पनि सञ्चालन भइरहेका छन्।
सार्वजनिक तालिका अनुसार फागुन २ देखि ४ गतेसम्म विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुनेछन्। फागुन ४ गते विभिन्न विद्यालयका छात्रछात्राहरूको सहभागितामा ३ किलोमिटर सडक दौड आयोजना गरिनेछ। फागुन ५ गते सो दौड प्रतियोगिताको समापनसँगै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबाट पुरस्कार वितरण हुनेछ।
यसैगरी, फागुन ६ गते रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा बृहत् रक्तदान कार्यक्रम गरिनेछ। फागुन ७ गते पूर्व विद्यार्थीहरूको पुनर्मिलन, संवाद कार्यक्रम तथा विद्यालयको ऐतिहासिक वृत्तचित्र डकुमेन्ट्री सार्वजनिक गरिने विद्यालयले जनाएको छ।
फागुन ८ गते आयोजना हुने मूल समारोह विशेष र ऐतिहासिक हुने बताइएको छ। सो दिन वि.सं. २००९ देखि विद्यालयमा अध्यापन गराउनुभएकी ९४ वर्षीया पूर्व शिक्षक मणिकला गुरुआमालाई प्रमुख अतिथिको रूपमा रथारोहण गराई नगर परिक्रमा गराइनेछ। कार्यक्रममा विद्यार्थीहरूले निर्माण गरेको रोबोटमार्फत प्रमुख अतिथिलाई स्वागत गरिने र ड्रोनबाट समारोहको भिडियो रेकर्ड गरिने प्रविधिमैत्री आकर्षण समेत रहनेछ।
सोही अवसरमा हीरक जयन्ती स्मारिका विमोचन हुनुका साथै विभिन्न विधामा छात्रवृत्ति तथा पुरस्कार वितरण गरिनेछ। विद्यालयमा लामो समय सेवा गरेका शिक्षक, कर्मचारी, उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक र जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरिने कार्यक्रम छ। पूर्व विद्यार्थी प्रकाश दाहालले आफ्ना स्वर्गीय पिता योगप्रसाद उपाध्यायको स्मृतिमा ‘उत्कृष्ट वर्ष शिक्षक’ लाई ११ हजार १०० रुपैयाँको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
प्रधानाध्यापक लावतीले यस ऐतिहासिक अवसरमा सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पूर्व विद्यार्थी, अभिभावक र सरोकारवालाहरूलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ। विद्यालयले हीरक जयन्तीकै अवसरमा प्रत्येक कक्षामा स्मार्टबोर्ड जडान, ई–पुस्तकालय र विज्ञान प्रयोगशालाको स्तरोन्नति गर्ने लक्ष्य समेत राखेको छ ।