पूर्वाञ्चल खबर
रजत जयन्तीको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले अबको शिक्षा गुणस्तरीय मात्र नभई रोजगारमुखी हुनुपर्नेमा जोड दिए । ‘आगामी दिनमा विद्यार्थीहरूलाई प्रविधियुक्त शिक्षासँगै सीप र संस्कारसँग जोडेर अगाडि बढाउनु आवश्यक छ,’ उनले भने ।
विद्यालयका प्रिन्सिपल इन्द्र राईले मोर्डन एराले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथै सीप र संस्कारसहितको व्यावहारिक ज्ञान प्रदान गर्दै आएको बताए । ‘हामीले विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय बनाउँदै आएका छौँ, जसका कारण उनीहरूले हरेक क्षेत्रमा सफलता प्राप्त गरिरहेका छन्,’ प्रिन्सिपल राईले भने ।
उनका अनुसार विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म ९५० जना र कलेजतर्फ ३५० जना गरी कुल १ हजार ३ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत् छन्। विद्यालयलाई मन्टेश्वरी पद्धतिबाट सञ्चालन गरिएको र विद्यार्थीको चौतर्फी विकासका लागि बिहानदेखि साँझसम्म विभिन्न शैक्षिक गतिविधि हुने गरेको जानकारी समेत उनले दिए ।
रजत जयन्तीको पहिलो दिन विद्यार्थीहरूले आकर्षक नृत्य, गीत र कविता वाचन प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रतिभा देखेर सहभागी अभिभावक तथा अतिथिहरू मन्त्रमुग्ध भएका थिए। रजत जयन्ती तथा अभिभावक दिवसको समापन शुक्रबार गरिने विद्यालय प्रशासनले जनाएको छ।