पूर्वाञ्चल खबर
चुनावी मैदानमा दुई प्रभावशाली व्यक्तित्व उत्रिएपछि झापा ५ का चोक, बजार र चियापसलहरूमा हारजितको बहस मात्र चल्दैन, लाखौँ रुपैयाँको ‘सट्टेबाजी’ समेत सुरु भएको छ । ओलीको पुरानो बिरासत र बालेनको नयाँ ‘क्रेज’ मध्ये कसले बाजी मार्ला भन्दै समर्थकहरूले ठुलो रकमको दाउ थाप्न थालेका हुन् ।
निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलोमा व्यस्त रहँदा बाहिर भने सट्टेबाजहरूको सक्रियता बढेको छ । दमकका एक व्यापारीले बालेनको पक्षमा १ लाख रुपैयाँको बाजी राखेका छन् । ‘मैले बालेनले जित्नेमा एक लाख राखेको छु, अर्को साथीले ओलीको पक्षमा,’ ती व्यापारीले भने, ‘यसका लागि हामीले कागज नै गरेर एक विश्वासिलो व्यक्तिलाई पैसा जिम्मा लगाएका छौँ ।’
यस्तै दृश्य गौरादह बजारमा पनि देखिएको छ । त्यहाँ एक युवकले बालेनको पक्षमा ५० हजार रुपैयाँको बाजी राखेका छन् । ‘एमालेका कट्टर समर्थक साथीले ओलीले दशकौँदेखि जितेको र विकास गरेको भन्दै ओलीको विकल्प नभएको दाबी गरे,’ ती युवाले सुनाए, ‘मैले यसपालि जनताले परिवर्तन खोजेका छन् भन्दै बाजी स्वीकार गरेँ । अब मतदान सकिएर गणना सुरु भएपछि मात्र यसको छिनोफानो हुनेछ ।’ यसरी गाउँदेखि सहरसम्म समूह बनाएर वा व्यक्तिगत रूपमा बाजी राख्ने क्रम बढ्दो छ, जसलाई कानुनले अवैध मान्दछ ।
झापा ५ ओलीका लागि विगत तीन दशकदेखि सुरक्षित मानिएको क्षेत्र हो । २०४८ सालयता भएका सातवटा निर्वाचनमध्ये ६ पटक उनले यहीँबाट जित हासिल गरेका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा मात्र उनी तत्कालीन माओवादीका विश्वदीप लिङ्देनसँग १ हजार २०० मतान्तरले पराजित भएका थिए । कमल गाउँपालिका, गौरादह र दमक नगरपालिका तथा गौरीगन्ज गाउँपालिकाका केही वडा समेटिएको यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता छन् । यस पटक ९ हजार ९० नयाँ मतदाता थपिएका छन्, जसलाई आफ्नो पक्षमा पार्न दुवै उम्मेदवारले प्रतिष्ठाको लडाइँ बनाएका छन् ।
प्रहरीको कडा निगरानी
चुनावी नतिजालाई लिएर भइरहेको सट्टेबाजीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले यस्ता अवैध गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि सह्य नहुने बताए ।
‘‘चुनाव आउन करिब एक महिना बाँकी छ, सट्टेबाजीका विषयमा हामीले सूचना संकलन गरिरहेका छौँ,’’ डीआईजी घिमिरेले भने, ‘अवैध हर्कत भएको पाइए कानुनअनुसार कडा कारबाही गरिनेछ ।’’
झापा ५ को विशिष्ट अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । डीआईजी घिमिरेका अनुसार यस क्षेत्रमा थप १०० जना प्रहरी जनशक्ति परिचालन गरिएको छ, जसमा दुई इन्स्पेक्टर र एक डीएसपीले कमान्ड गर्नेछन् । ‘‘झापा ५ मा दुई जना भावी प्रधानमन्त्रीका उम्मेदवारहरू हुनुहुन्छ, त्यसैले यहाँको सुरक्षा गम्भीरता बढी छ,’’ उनले थपे, ‘हामीले सादा पोसाकमा पनि प्रहरी परिचालन गरेका छौँ र प्रविधिको प्रयोगमार्फत निगरानी बढाइएको छ ।’’
प्रहरीले ढुक्क भएर मतदान गर्ने वातावरण तयार पारिएको दाबी गर्दै निर्वाचन बिथोल्न सक्ने तत्तवहरूलाई समेत उच्च निगरानीमा राखिएको जनाएको छ । निर्वाचन सामग्रीको ढुवानी र कर्मचारी परिचालन भइसकेकाले अब शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनेमा प्रहरी विश्वस्त छ ।