AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ खेलकुदमा प्रशासनिक लफडा: नयाँ प्रमुख भट्टराई हाजिर भएर फर्किए, पोखरेल अझै कार्यकक्षमै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०८२, आईतवार १८:४१
288
Shares
विराटनगर /राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मोरङ जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखमा श्यामहरी भट्टराईलाई जिम्मेवारी तोकेको छ ।

परिषद्को पुस २२ गतेको सदस्य सचिव स्तरीय निर्णयअनुसार भट्टराईलाई मोरङको नयाँ कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त प्रमुख भट्टराई परिषद्को निर्णयसहितको पत्र लिएर  आज जिल्ला खेलकुद विकास समिति मोरङमा हाजिर हुन पुगेका थिए । तर, वर्तमान कार्यालय प्रमुख राजनकुमार पोखरेलले आफूलाई परिषद्बबाट  पदमुक्त भएको वा सरुवा भएको कुनै आधिकारिक पत्र प्राप्त नभएको भन्दै कार्यकक्ष छोड्न अस्वीकार गरेका छन् ।

पोखरेल २६ पुस २०७८ देखि मोरङमा कार्यरत छन् । ‘म राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको कर्मचारी हुँ । मलाई परिषद् बाट   अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी वा पत्र आएको छैन । त्यसैले पत्र नआई कार्यकक्ष छोड्न मिल्दैन । परिषद् बाट  मेरो हकमा पत्र आएको एक मिनेटमै म पद छाड्नेछु ,’ उनले भने ।

यसअघि झापा जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख रहेका भट्टराई भने परिषद्को पत्र बोकेरै कार्यभार सम्हाल्न आएको बताउँछन् । उनले भने, ‘सदस्य सचिवस्तरको निर्णयले मलाई मोरङको जिम्मेवारी दिएको छ, म पत्रसहित आएको हुँ । तर पोखरेल सरले माथिबाट पत्र नआएको भन्दै कार्यकक्ष छाड्नुभएन । म हाजिर गरेर फर्किएको छु ।’

जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्र योन्जनले परिषद्को निर्णयअनुसार भट्टराईलाई कार्यभार सम्हाल्न भनिएको जानकारी दिए । उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद्ले निर्णय गरेर भट्टराईजीलाई जिम्मेवारी दिएको पत्र आएपछि हामीले कार्यभार सम्हाल्न भनेका हौं, तर पोखरेलजीले कार्यकक्ष छोड्न मान्नुभएको छैन ।’

अध्यक्ष योन्जन र कार्यालय प्रमुख पोखरेलबीच लामो समयदेखि सम्बन्ध सुमधुर नरहेको बताइन्छ । अध्यक्षका योजनाहरू कार्यान्वयन गर्ने सवालमा पोखरेल बाधक बन्ने गरेको चर्चा खेलकुद वृत्तमा चल्दै आएको छ । विवादका कारण नयाँ प्रमुखले जिम्मेवारी सम्हाल्ने प्रक्रियामा अन्योल सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर