पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका–१५ मा सामान्य चिया नास्ता पसलको आडमा गाँजाको कारोबार गर्ने तीन जनालाई प्रहरीले हिजो साँझमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक कविन राई नेतृत्वको टोलीले चिया नास्ता पसलमा छापा मारेर गाँजा बरामद गरेको छ ।
मनोज साहको घरमा सटर भाडामा लिएर चिया तथा नास्ता पसल सञ्चालन गर्दै आएकी भारत बिहारकी अन्दाजी ४५ वर्षीया कविता यादवले उक्त पसलबाट गाँजाको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजासहित पसल सञ्चालक यादव, उनका छोरा २८ वर्षीय मुन्नाकुमार यादव र मोरङको जहदा गाउँपालिका–१ का अन्दाजी १९ वर्षीय मञ्जितकुमार यादवलाई पक्राउ गरेको हो । साथै, घटनास्थलमा रहेको बीआर ३८ क्यू ८९३६ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पसल खानतलासी गर्दा भित्र रहेको खाटमुनि सेतो प्लाष्टिकका ७ वटा पोका एकै ठाउँमा जम्मा गरी सेतो टेपले बेरेर लुकाइराखिएको अवस्थामा गाँजा फेला पारेको थियो । त्यहाँ ससाना खाली प्लाष्टिकका प्याकेटहरू पनि भेटिएपछि उक्त पसलबाट गाँजाको खुद्रा बिक्रीसमेत हुँदै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । बरामद गरिएको गाँजा डिजिटल तराजुमा तौल गर्दा ७ किलो १ सय ८० ग्राम भएको प्रहरीले जनाएको छ । पसलबाट लामो समयदेखि गाँजाको खरिद बिक्री हुने गरेको प्रहरीले जनाएको छ ।
बरामद भएको गाँजासहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । गाँजा कहाँबाट ल्याइन्थ्यो, कस–कसलाई बिक्री गरिन्थ्यो र यसमा अन्य व्यक्तिहरू संलग्न छन् कि छैनन् भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।